ललितपुर, माघ ५ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतामाझ माओवादी एक भएर उभिँदा जनता उत्साहित हुने र प्रतिक्रियावादीहरु आतङ्कित हुने गरेको बताएका छन् । विहिबार ललितपुरको खन्ना गार्मेन्टमा माओवादीको विशेष व्यूरोद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने– ‘माओवादी अन्तरसङ्घर्षसँगै एक भएको छ, हामी एक भएर उभिँदा जनताहरु उत्साहित हन्छन् र प्रतिक्रियावादीहरु आतङ्कित हुने गरेका छन् ।
प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीको एकताले संशोधनवादी तथा प्रतिक्रियावादीमा पैदा भएको माओवादी फुट्ने दिवा सपना तोडिएको बताएका छन् । उनले पार्टी पहिलेभन्दा बिग्रेको स्विकार गर्दै भने– ‘पार्टी बिग्रेको छ, हामी पनि बिग्रेका छौं, यो एकतासँगै हामीभित्र सुदृढीकरण हुनेमा विश्वस्त हुनुस ।’ यसप्रकारको बैठक तथा कार्यक्रमहरु हुन्छ कि हुँदैन भन्ने शङ्का पैदा भैरहेको बेलामा प्रतिक्रियावादीहरु माओवादी विभाजन भएको सुन्न आतुर भएका थिए भन्दै उनले भने– ‘हामीले उनीहरुको कानमा फुटेको होइन जुटेको खबर सुनाउन सफल भएका छौं ।’
प्रशिक्षणमा माओवादी अध्यक्ष प्रचण्डले अन्तरसङ्घर्षलाई व्यवस्थित गर्न रहीआएको ५ बुँदेमा ४ बुँदे थप गरीएको जनाउँदै यसले पार्टीलाई एक बनाएर अगाडि बढ्न मदत गर्ने बताएका छन् । पार्टीभित्र एकले अर्कोमा छरेको भ्रमहरु पार्टीको केन्द्रीय समिति, स्थायी समितिमा मात्र छलफल गरेर होइन जनताकै तहबाट छलफल गर्दै तलदेखि नै समाधान गर्नुपर्ने अध्यक्ष प्रचण्डले बताएका छन् । कम्युनिष्टहरुमा फुट्ने स्थिती र फुट्नै नहुने दुबै स्थिती आउने बताउँदै प्रचण्डले भने– ‘अहिले फुट्नै नहुने स्थितीमा हामीले सफल सामाना गरेको छौं ।’
प्रशिक्षणमा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य ‘किरण’ले माओवादी एकतावद्ध भएर आएको बताएका छन् । प्रशिक्षणमा सहभागीहरुलाई सम्बोधन गर्दै किरणले भने– ‘हामी सबैले जितेका छौं, यसमा हामीले गर्व गर्नुपर्छ ।’ उनले अध्यक्ष प्रचण्डको राखेका विचारहरु सत्य भएको बताउँदै पार्टी एकताका लागि अध्यक्ष प्रचण्डको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । उनले भने– ‘हामीबाट कमजोरी भएकै हो, यो एकताका लागि अध्यक्षले महत्वपूर्ण यागदान रहेको छ ।’ केन्द्रीय समितिको बैठकले निर्णय गरेको कार्यक्रमहरु पूर्ण कार्यान्वयन भएमा यसले धेरै माओवादीलाई धेरै माथि उठाउने किरणले बताएका छन् ।
वरिष्ठ उपाध्यक्ष किरणले एमाले–काँग्रेसले प्रचण्डलाई राजनेता बनाउन खोजेको उल्लेख गर्दै भने– ‘तर हामीले अध्यक्षलाई विश्व सर्वहारा वर्गको उच्च नेता बनाउन चाहेका छौं ।’ अन्तरसङ्घर्षको विधि व्यवस्थापनका लागि गरिएको चारबुँदे र पाँचबुँदेलाई इङ्गित गर्दै किरणले यस्तो विधि अन्यत्र कतै नभएको बताउँदै भने– ‘अन्तरसङ्घर्षको व्यवस्थापनको यसै विधिले पार्टिलाइ फुटबाट बचाएको छ ।’
केन्द्रीय समितिमा एकले अर्कालाई आरोप प्रत्यारोपदेखि गाली गलौज गरिएको भएपनि यस प्रशिक्षण कार्यक्रममा सबै शिष्ट र वैचारिक रुपमा प्रस्तुत भएका थिए । प्रशिक्षण कार्यक्रममको सञ्चालन नेवा राज्य समितिका इन्चार्ज हितमान शाक्यले गरेका थिए भने सभापतित्व तामसालिङ राज्य समितिका इन्चार्ज अग्नि सापकोटाले गरेका थिए । शुक्रबार विहान ११ बजे माओवादीको नेवा राज्य र दिउँसो २ बजे तामसालिङ राज्य समितिको बैठक बस्दैछ