अहिलेको अन्तरसघर्ष सारमा माक्र्सबाद र अवसरबादबिचको सघर्ष हो –प्रचण्ड (अन्तर्वार्ता)

Rate this item
(0 votes)

‘पाँचबुँदे अपर्याप्त भएको भन्ने भन्दा पनि पाँचबुँदे बढी भएको देखिन्छ । पाँचबुँदे बढी भयो । त्यसकारण पाँचबुँदेलाई हटाएर जनवादी केन्द्रीयताको एउटै बुँदामा ल्याउनु पर्ने आवश्यकता बढी देखिएको छ । निम्न पुँजीपति वर्गको दायाँ अथवा बायाँले सर्वहारा वर्गको अनुशासन, सर्वहारा वर्गको पद्धतिलाई मान्दैन, त्यसले तोडदिन्छ । त्यो तोड्नु उसका लागि केही हो जस्तो लाग्दैन किनभने दार्शनिक रुपमा नै ऊ गलत भएको हुनाले पद्धति र सिद्धान्तलाई त्यसले मान्दैन । त्यसैले ऊ आफैँ पाँचबुँदे बनाउँछ, आफैँले त्यसलाई भोलिपल्टैदेखि तोड्न थाल्छ । आफैँले एउटा सहमति गर्छ र भोलिपल्टैदेखि तोड्न थाल्छ । यसले पनि के देखाउँछ भने पार्टीभित्र जुन अवसरवाद देखा परेको छ, त्यो कुनै पद्धतिभित्र बस्दैन । त्यो विघटन र विसर्जन नहुँदासम्म भाँडभैलो पारिराख्छ ।’

प्रश्न:  अध्यक्ष कमरेड ! मुलुक तथा कम्युनिस्ट आन्दोलन विशिष्ट र सङ्गिन मोडमा रहेका बेलाको यो वार्ता पनि ऐतिहासिक महङ्खवको र विशिष्ट हुने छ भन्ने हामीलाई लागेको छ । यस अवसरमा क्रमभङ्ग प्रकाशन परिवारका तर्फबाट आदरणीय कमरेड अध्यक्षप्रति हार्दिक अभिवादन पेस गर्दछौँ । साथै मुलुक र पार्टीलाई जटिल अवस्थाबाट पार लगाउन यहाँको नेतृत्वमा सफलता मिलोस् भन्ने शुभकामनासमेत व्यक्त गर्दछौँ ।
धन्यवाद ! क्रमभङ्गले विचारधाराको क्षेत्रमा र नेपालको समसामयिक राजनीतिलाई एउटा दिशा दिने क्षेत्रमा पनि महङ्खवपूर्ण भूमिका खेलेको मैले पहिलो अङ्कबाटै महसुस गरेको छु । अब अहिले दोस्रो अङ्कमा पनि यसमा अझ परिमार्जन आओस् भन्ने म पार्टीको तर्फबाट र मेरो तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपालमा हाल वर्गसङ्घर्ष कहाँ आइपुगेको छ ? व्याख्या गरिदिनुहोस् न ।


 नेपाली वर्गसङ्घर्ष आन्तरिक रुपले सामन्तवाद साम्राज्यवादविरोधी सङ्घर्षको उत्कर्षतिर आइराखेको छ र बाह्य रुपमा चाहिँ यो मुख्यतः राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई नयाँ उचाइमा उठाउने विन्दुमा केन्द्रित छ । त्यसकारण हामीले सामन्तवाद साम्राज्यवादविरोधी जनवादी क्रान्तिलाई पूर्णता दिने कुरा हो । त्यसको उत्कर्षतिर नै नेपालको वर्गसङ्घर्ष अगाडि बढेको छ भन्दा अत्युक्ति हुँदैन । 
महान् जनयुद्धको पहिलो योजनामा व्यक्त ७ बुँदे सैद्धान्तिक प्रतिबद्धताका विपरीत वर्गसङ्घर्षको स्पिरिट, कार्ययोजना र कार्यान्वयनबाट पार्टी च्युत हुँदै गएको आरोप छ नि ! वास्तविकता के हो ? आजको वर्गसङ्घर्षको स्वरूप र ती प्रतिबद्धताहरूको तालमेल कहाँनेर हुन्छ ?
हामीले जनयुद्धको तयारी गर्दै गर्दा र पहिलो योजना निर्माण गर्दा मैले जुन प्रस्ताव तयार पारेको थिएँ र तत्कालीन केन्द्रीय समितिमा प्रस्तुत गरेको थिएँ । सातबुँदे प्रतिबद्धता पनि मैले नै भविष्यमा आन्दोलनको दिशामा कुनै विचलन नआओस् भनेर त्यसलाई सूत्रबद्ध गरेर केन्द्रीय समितिमा पेस गरेको थिएँ । केन्द्रीय समितिले जस्ताको त्यस्तै पारित पनि गरेको थियो । दोस्रो कुरा अहिले त्यो सातबुँदे प्रतिबद्धताबाट पार्टी विचलित भयो भन्नु बिलकुल गलत कुरा हो किनभने वर्गसङ्घर्षको विकासको नियम, आन्दोलनको विकासको नियम सरल रेखामा हुँदैन त्यहाँ उतार चढावहरु हुन्छन्, घुम्ती र मोडहरु हुन्छन्, वक्र रेखामा यो अगाडि बढ्छ भन्ने हाम्रो पहिलो कुरा हो । दास्रो कुरा, नेपालको समग्र वर्गसङ्घर्ष र अन्तर्राष्ट्रिय वर्गसङ्घर्षको आधारमा हामीले तत्कालीन कार्यनीतिहरु निश्चित गर्नु पर्दछ । त्यहाँ जुन प्रतिबद्धता व्यक्त गरिएको छ ती सैद्धान्तिक प्रतिबद्धता र रणनीतिक प्रकृतिका दूरगामी महङ्खवका प्रतिबद्धताहरु हुन् । ती प्रतिबद्धताप्रति पार्टी अहिले पनि उत्तिकै स्पष्ट र दृढ छ तर वर्गसङ्घर्षको उतार–चढावसँगै कार्यनीतिमा जो हेरफेर गर्नु पर्दछ त्यो हामीले चौथो विस्तारित बैठकदेखि दोस्रो राष्ट्रिय सम्मेलन या एक्काइसौँ शताब्दीमा जनवादको विकासको प्रस्तावमा र शान्तिवार्ता सम्बन्धी, संविधान सभा सम्बन्धी कार्यनीति ल्याउँदाखेरि पनि हामीले कार्यनीतिमा हेरफेर गर्ने कुरा आवश्यक छ भनेर गरेका हौँ । अहिले पनि हामी सङ्घर्षको जुन क्रममा छौँ, अन्तर्राष्ट्रिय र राष्ट्रिय वर्गसङ्घर्षको लेखाजोखा गरेर नै उपयुक्त कार्यनीतिको शृङ्खला तयार पारेका हौँ । हामी अहिले शान्ति प्रक्रिया र संविधान सभामा भएको हुनाले त्यो सैद्धान्तिक प्रतिबद्धता अथवा रणनीतिक दूरगामी प्रतिबद्धताबाट फरक छ भनेर सोच्नु बिलकुल मनोगतवाद, यान्त्रिकता र जडताबाहेक केही पनि हुँदैन । दुनियाँको कुनै पनि कम्युनिस्ट पार्टीले नेतृत्व गरेको क्रान्तिकारी आन्दोलन थुप्रै घुम्ती मोडहरु पार गरेर जान्छन्, घुम्तीभित्र छिर्नेबित्तिकै विचलित भयो भन्ने आँखा माक्र्सवादी आँखा हुन सक्दैन । 
विश्वको कुनै पनि सफल कम्युनिस्ट क्रान्तिकारी आन्दोलन मूलतः निरन्तर सशस्त्र सङ्घर्षको प्रक्रियाबाट मात्र सफल भएको देखिन्छ । हामी भने क्रान्तिको शान्तिपूर्ण विकास भनेर शान्ति प्रक्रिया र संविधान लेखनको यात्रा तय गरिरहेका छौँ । यस प्रक्रियाका सैद्धान्तिक आधारहरू के के हुन् ?
यो कुरा त्यति सही होइन । विश्वका सबै क्रान्तिकारी आन्दोलनहरु सशस्त्र सङ्घर्ष सुरु भएपछि बीचमा कुनै विराम नै नगरीकन सम्पन्न भएका छन् भन्ने कुरा कतिपय सन्दर्भमा सत्य हुँदाहुँदै पनि सबैमा सत्य होइन । रुसी क्रान्ति जो सशस्त्र विद्रोहात्मक रणनीति अन्तर्गत सफल भएको थियो त्यो १९०५ मा एक ढङ्गले सशस्त्र विद्रोह छापामार गतिविधि र सशस्त्र विद्रोहलाई प्mयुजन गर्ने कोसिस पनि भएको थियो । तर, पछि त्यसमा नयाँ कार्यनीति अपनाउनु पर्ने अवस्था आयो वर्गसङ्घर्षको नयाँ परिस्थितिमा । र, शान्तिपूर्ण र संसदीय कार्यनीति अपनाउनु पर्ने फेरि एउटा नयाँ परिस्थिति सिर्जना भयो । लेनिन र त्यहाँको बोल्सेभिक पार्टीले त्यही कार्यनीति अपनाए । अनि १९१७ मा गएर मात्र फेरि सशस्त्र विद्रोहको तयारी गरियो र विशेषतः विश्वयुद्धको परिस्थिति र रुसी वर्गसङ्घर्षको परिस्थितिमा त्यहाँ समाजवादी क्रान्ति सम्पन्न भयो । त्यसकारण त्यहाँ सशस्त्र सङ्घर्ष सुरु गरेपछि लगातार सफल भयो भन्न मिल्दैन । यही कुरा चिनियाँ क्रान्तिमा पनि सत्य हो । किनकि चिनियाँ क्रान्ति धेरै चरण उपचरणहरु गर्दै अगाडि बढेको छ । त्यहाँ पहिला सुरु भएको दीर्घकालीन जनयुद्धको जुन रुप र प्रक्रियाबाट सुरु भएको थियो जापान विरोधी युद्धमा जाँदा त्यो भिन्न रुपमा अगाडि बढ्यो किनकि जोसँग लडाइँ लडिराखेको हो दस वर्षसम्म तिनीहरुसँग मिलेर विदेशीसँग लड्नु पर्ने अवस्था आयो । त्यसकारण त्यो सशस्त्र सङ्घर्षको स्वरुप र अघिल्लो सशस्त्र सङ्घर्षको स्वरुप एउटै हो भनेर सोच्नु पनि सही हुँदैन, त्यो भिन्न चीज हो । दोस्रो विश्वयुद्धको समाप्ति र जापानमाथि चीनको विजय भइसकेपछि अनि त्यहाँ संयुक्त सरकार र शान्ति वार्ताको कुरा गरियो, आधार इलाका छोड्ने कुरा गरियो, जनसेनालाई पनि ठुलो सङ्ख्यामा घटाउने कुरा गरियो । वार्ता गरियो र वार्तामा सम्झौता पनि गरियो । त्यो सम्झौता यदि च्याङ काइ सेकले नतोडेको भए मैले के बुझ्छु भने माओ र चिनियाँ कम्युनिस्ट पार्टी त्यति बेलै शान्तिपूर्ण रुपले नै सरकारमा जाने र शान्तिपूर्ण ढङ्गले नै जनवादी क्रान्तिलाई पूर्ण पार्ने सम्भावना पनि थियो । यदि त्यो थिएन भन्ने हो भने छुङकिङ वार्ता हुनु र ४५ दिनसम्मको वार्तापछि सम्झौतामा माओत्सेतुङ र च्याङ काइ सेकले हस्ताक्षर गर्नुको के अर्थ छ ? के त्यो नाटक मात्र थियो या त्यति बेलाको वर्गसङ्घर्षको सही आकलनको आधारमा गरिएको सही कार्यनीति थियो ? अहिलेसम्म संसारभरिका सच्चा कम्युनिस्टहरुले बुझेको कुरा के हो भने त्यो त्यतिबेलाको वर्गसङ्घर्षमा लिइएको सही कार्यनीति थियो । त्यो कार्यनीति अपनाएर अगाडि जान खोज्दाखोज्दै पनि भूमिसुधार सम्बन्धी थुप्रै कुराहरुमा सहुलियत दिएर, जमिन फिर्ता गरेर, सेना घटाएर, आधार इलाका छोडेर च्याङ काइ सेकसँग संयुक्त सरकार बनाउन तयार हुँदा पनि च्याङ काइ सेक नमानेको हुनाले फेरि विद्रोह गर्ने स्थिति बनेको हो । यो कुरा बिर्सनु हुँदैन । कतिपय निम्न पुँजीवादी र अतिवादी सोच भएकाहरुले मानौँ एक चोटि जनयुद्ध सुरु भएपछि अन्यत्र लगातार गएको छ भन्ने सोच्छन् भने त्यो यथार्थसम्मत होइन । 
जनसंविधान बन्न नदिइए जनविद्रोहमा जाने कुरालाई पार्टीले निरन्तर दोहोयाउँदै आएको छ । तर (माओवादी सहमत हुने प्रकारको) संविधान बन्ने सम्भावना चाहिँ कत्तिको छ ? (सहमतिमा) संविधान बनेपछि नेपाली क्रान्तिको बाँकी प्रक्रिया कसरी अगाडि बढ्छ त ? प्रस्ट पारिदिनुहोस् ।
यो कुरा सायद मैले अघिल्लो पटक पनि क्रमभङ्गकै सन्दर्भमा भनिसकेको छु । नेपालमा शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने र संविधान निर्माण गर्ने बारे तीन ओटा सोचहरु प्रस्टै देखा पर्छन् । साम्राज्यवादी र प्रतिक्रियावादीहरुसँग सम्झौतै गरेर घुँडै टेकेर भए पनि शान्ति प्रक्रिया टुङ्ग्याउने र जसरी पनि संविधान लेख्ने भन्ने एउटा सोच नेपाली समाज र राजनीतिक वृत्तमा छ । अर्को कुनै हालतमा शान्ति प्रक्रिया टुङ्ग्याउन दिनु हुँदैन, संविधान बनाउन हुन्न भनेर प्रत्येक पाइलामा भाँजो हाल्ने असाध्यै यान्त्रिक तथा सङ्कीर्ण सोच पनि नेपालको राजनीतिमा र नेपाली समाजमा छ भने तेस्रो चाहिँ शान्ति र संविधान कम्युनिस्ट क्रान्तिकारीहरुको त्यसमा पनि माओवादीहरुको जनयुद्धको अनि जनआन्दोलनको परिणाम भएको हुनाले यसको स्वामित्व र जिम्मेवारी हामीले लिनु पर्छ । शान्ति प्रक्रिया पनि विस्तृत शान्ति सम्झौताको स्पिरिट अनुसार सम्मानजनक ढङ्गले निष्कर्षमा पुगोस् र संविधान पनि सामन्तवाद साम्राज्यवाद विरोधी सारतङ्खव भएको (रुपै सबै हामीले भने जस्तो त अहिले बन्न सम्भव छैन तर सार चाहिँ त्यतापट्टि जाने खालको) संविधान बनाउन अधिकतम कोसिस गर्नुपर्छ । यी तिन ओटा विचार प्रवृत्तिहरु अहिले आम नेपाली समाजमा, नेपालको राजनीतिमा, नेपाली कम्युनिस्ट आन्दोलनमा र हाम्रो पार्टीमा पनि छन् । हाम्रो पार्टीको आधिकारिक लाइन भनेको तेस्रो हो । घुँडा टेकेर भए पनि शान्ति र संविधान भन्ने होइन, शान्ति र संविधानबाट भाग्ने पनि होइन, शान्ति र संविधानका लागि अन्तिम समयसम्म सङ्घर्ष गर्ने र त्यसलाई सफल पार्न कोसिस गर्ने लाइन हाम्रो लाइन हो । 
दोस्रो कुरा, संविधान बन्ने सम्भावना कति छ र बनिहाल्यो भने के हुन्छ भनेर सोध्नु भयो । संविधान बन्नु, शान्ति प्रक्रिया टुङ्गोमा पुग्नु राम्रो कुरा हो । हामीले त्यसैका निम्ति कोसिस गर्नुपर्छ । संविधान बन्छ कि भनेर डराउनु भनेको वास्तवमा हामीले हिजो गरेका कुराप्रति इमान्दार नबन्नु हो र त्यसो गरियो भने जनताप्रति विश्वासघात हुन्छ । हामीले त जनतालाई शान्ति प्रक्रिया टुङ्ग्याउँछौँ र संविधान सभाबाटै संविधान लेख्छौँ भनेर लडेका हौँ । यही अनुरुप जनतालाई हामीले निर्वाचनका क्रममा प्रतिबद्धता व्यक्त गरेका पनि हौँ । त्यसकारण बन्दा राम्रो हुन्छ । बनेपछि के हुन्छ भन्ने बारेमा चाहिँ कम्युनिस्ट आन्दोलनमा अहिले निकै ठुलो छलफल भइराखेको छ । अब यहाँ यो विषय सायद अलिकति ठुलो छ भन्ने मलाई लाग्छ । यसलाई अलि ठुलै ढङ्गले सैद्धान्तिक पुष्टि गर्नुपर्ने आवश्यकता छ । यो विषय कहाँनेर जोडिन्छ भने हामी अहिले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, नेपाली कम्युनिस्ट आन्दोलन, अन्तर्राष्ट्रिय वर्गसङ्घर्ष र नेपाली वर्गसङ्घर्षको जुन बिन्दुमा छौँ र विश्व अहिले आर्थिक दृष्टिकोणले, विज्ञान र प्रविधिको दृष्टिकोणले विकासको जुन स्तरमा छ, त्यहाँबाट हेर्दा हामीले परम्परागत ढङ्गले क्रान्ति गर्ने सोच मात्रै बनाइराख्यौँ भने क्रान्ति सम्भव छैन । नयाँ जनवादी क्रान्ति पनि माओले गरे जस्तै गरेर गर्ने भन्ने सोच्यौँ भने अथवा विद्रोह पनि लेनिनले गरे जस्तै गर्ने भनेर सोच्यौँ भने त्यो यथार्थसँग मेल खाँदैन । त्यसकारण हामीले नितान्त नयाँ संश्लेषण सहित क्रान्तिलाई पूर्णतामा लानु पर्ने हुन्छ । यदि संविधान सामन्तवाद साम्राज्यवाद विरोधी सारतङ्खवको बन्यो भने र शान्ति प्रक्रिया पनि समुचित ढङ्गले निष्कर्षमा पुग्यो भने माओवादी पार्टीको प्रभाव जनतामा अझ विस्तार हुन्छ र पार्टीले नयाँ शिराबाट जनतालाई सङ्गठित गर्ने, पार्टीलाई सुदृढ गर्ने र हामीले कमसे कम पाँच सात वर्षको योजना वा दस वर्षकै योजनाभित्रबाट जानु पर्ने अवस्था आउँछ । छ महिनापछि क्रान्ति, एक वर्षपछि क्रान्ति भनेर समय तोकेर, मिति तोकेर क्रान्तिको कुरा हुन सक्दैन । अब गर्ने भनेको जनविद्रोह नै हो, अर्को होइन । अब दीर्घकालीन जनयुद्ध वा छापामार युद्ध भन्नु त्यो पश्चगमन हुन्छ । यो कुरा पहिल्यै प्रस्ट गरिसकिएको छ । जनविद्रोहमा जानका लागि करोडौँ जनसमुदायलाई पार्टीको वरिपरि गोलबद्ध गर्ने कुरा र विश्वासमा लिने कुरा हो । शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनु र संविधान बनाउनुले जनतामा माओवादी पार्टी र नेतृत्वप्रति एउटा गुणात्मक विश्वास फेरि पैदा हुन्छ र त्यसलाई सङ्गठित गरेर अगाडि बढ्नु पर्ने हुन्छ । त्यति बेला सामन्तवादी अवशेष भनौँ या साम्राज्यवादी शक्तिहरुले कुनै न कुनै रुपमा माओवादीको त्यो लोकप्रियता र जनतामा देखिने सामाजिक आर्थिक रुपान्तरणको प्रक्रिया (संविधान बनेपछि वा अर्को निर्वाचनमा) का विरुद्ध उनीहरु खडा हुन आइपुग्छन् । त्यस कारण उनीहरु जस्तो गरी आउँछन्, त्यसरी नै प्रतिरोध गर्नका लागि हामीले जनतालाई तयार पारिराख्नु पर्ने हुन्छ । चार आधार र चार तयारीको जुन कुरा छ, अब हामी त्यता पट्टिबाट तयारी गरेर जानु पर्ने अवस्था आउँछ । तपाईंहरुको प्रश्नको उत्तर त यही हो तर म यसभन्दा अलि बढी भन्न चाहिरहेको छु । 
पहिला चाहिँ नयाँ जनवादी क्रान्ति भन्दा मजदुर–किसान एकतामा आधारित भनेर भन्यौँ, दीर्घकालीन जनयुद्ध भनेर पनि भन्यौँ । एउटा परिस्थितिमा हामीले त्यो भन्यौँ अथवा त्यसैगरी माओले त्यो भन्नुभयो र भियतनाम लगायतका कतिपय देशहरुमा त्यसको प्रयोग पनि भयो । त्यतिबेलाको परिस्थितिमा त्यो मूलतः सफल पनि भयो तर त्यस्ता मजदुरहरु हामीले अहिले भेट्न कठिन छ जस्ता माओले सोच्नुहुन्थ्यो, त्यस्ता किसान पनि भेट्न गारो छ । अहिले भूमण्डलीकरण र उदारीकरणले गर्दा तथा विज्ञान र प्रविधिको विकासले गर्दा मजदुरहरु भूमण्डलीकृत भएका छन् र नेपालको गरिबभन्दा गरिब गाउँबस्तीका गरिबभन्दा गरिब किसानका छोराछोरीहरु पनि अरब, मलेसिया वा कतार जस्ता मुलुकमा छन् । मध्यम वा निम्न मध्यमवर्गीय परिवारका युवायुवतीहरु युरोप, अमेरिका या अस्ट्रेलियामा छन् । उनीहरु हाल अत्यधिक विकसित उत्पादक शक्तिको संसर्गमा पुगेका छन् । उत्पादक शक्ति र उत्पादन सम्बन्धको सिद्धान्तबाट वर्गसङ्घर्षलाई परिभाषित गरिएको हो । नेपाल परम्परागत र पिछडिएका उत्पादन शक्तिलाई प्रयोग गरेर एउटा निर्वाहमुखी अर्थतन्त्र चलेको देश थियो । त्यस्तो अवस्थामा दीर्घकालीन जनयुद्ध भन्नुको एउटा अर्थ थियो तर अब अहिले लाखौँ नेपाली किसानका छोराछोरीहरु जसले युद्ध गर्नुपर्ने हो ती विदेशका असाध्यै विकसित उत्पादन शक्तिको संसर्गमा छन् । पहिलो कुरा यो हो । नेपाली अर्थतन्त्र अहिले के कारणले टिकिराखेको छ त ? परम्परागत उत्पादन सम्बन्धले भन्दा विदेश गएर कमाइएको पैसा (रेमिटेन्स) ले नेपाली अर्थतन्त्रको महङ्खवपूर्ण हिस्सा चलेको छ । अब माओले गरेको जस्तो विश्लेषण हामीले खोज्यौँ भने त्यो अनुसारको अर्थतन्त्र नै हाम्रोमा भेटिँदैन । त्यसलाई कसरी हेर्ने भन्ने कुरा दोस्रो हो । तेस्रो कुरा चेतनाको हो । जब मान्छे विदेश जान्छ, उसले निश्चित चीजहरु देख्छ, सभ्यता र संस्कृतिको असर कुनै न कुनै रुपमा उसले मनोवैज्ञानिक रुपमा ग्रहण गरेर आएकै हुन्छ । ऊ ती अनुभवहरुलाई सांस्कृतिक रुपमा बोकेर आउँछ । उसले के बोकेर आउँछ भन्ने हिसाब नगरीकन (पिछडिएको देशको संस्कृति यस्तो छ मात्रै भनेर परम्परागत ढङ्गले सोचेर) त्यसको व्याख्या विश्लेषण गरियो भने सही रणनीति र कार्यनीतिको विकास गर्न सम्भव छैन । चौथो कुरा, पहिले पहिले जस्तो एक ठाउँमा फौजी कारबाही भयो वा राजनीतिक गतिविधि भयो वा आधार इलाका भयो भने त्यहाँ के भइराखेको छ भन्ने कुरा बाँकी दुनियाँले थाहा पाउन महिनौँ, कहिले त वर्षौँ कुर्नु पथ्र्यो । चीनमा छापामार युद्ध गर्दा, दीर्घकालीन युद्ध गर्दा अथवा जनवादी क्रान्तिको रणनीति अगाडि बढाउँदा कुन इलाकामा के भइराखेको छ भन्ने थाहा पाउन लामो समय कुर्नु पथ्र्याे भने अहिले विज्ञान प्रविधि वा सूचना प्रविधिको विकासले गर्दा क्षणभरमा दुनियाँको कुनै पनि कुनामा बस्ने मान्छेहरु अद्यावधिक भइराखेका हुन्छन्, सबै जानकारी लिइरहेका हुन्छन् । संसारमा कहाँ के भइराखेको छ भन्ने कुरा यति छिटो र यति तीव्र गतिमा जुन विश्वव्यापीकरण भएको छ, त्यसलाई हिसाब नगरीकन एउटा देशमा क्रान्ति पुरानै तरिकाले गर्छु भन्यो भने त्यसको नियत जतिसुकै राम्रो भए पनि नियति चाहिँ आत्मघातीबाहेक केही पनि हुँदैन । यी विषय मैले उठाउन खोजेँ मात्रै । यनलाई सैद्धान्तीकरण, विश्लेषण र समुचित संश्लेषण नगरीकन क्रान्तिलाई अब कुनै पनि देशमा सफलतासम्म डो¥याउन सम्भव छैन । सबाल यहीँनेर छ । केही मानिसहरु पुरानै तरिकाले क्रान्ति सम्भव छ भन्ने ठान्दछन् । यो आत्मरति मात्रै हो । त्यसबाट क्रान्ति नै साँच्चै हुने चाहिँ होइन । उनीहरुले गर्न सक्ने कुरा पनि त्यो होइन । त्यो उनीहरुको ठनाइ मात्रै हो । उनीहरुले विश्वव्यापी महङ्खवका यी अहम् मुद्दाहरुलाई ध्यान दिँदैनन् तर यसमा ध्यान दिनु जरुरी छ । यसले के देखाउँछ त भन्दा अब नयाँ जनवादी क्रान्ति र समाजादी क्रान्तिको भेद धेरै नै मेटिँदै छ । यसमा बुद्धिजीवी तथा संस्कृतिकर्मीहरुले बहस चलाउनु जरुरी छ । भेद मेटिइसक्यो भन्ने त होइन, यसका केही कोणहरु छन् तर हामी जनयुद्ध गरेर, बारम्बार जनआन्दोलनहरु गरेर राजतन्त्रको अन्त्यसहित गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता इत्यादि भन्ने ठाउँमा हामी आइपुगेका छौँ । विद्रोहीको नेतृत्व आम नेपाली जनतालाई स्वीकार्य हुने जुन परिस्थिति सिर्जना भएको छ त्यसलाई पनि हेर्दा र अघि मैले भनेका चार–पाँच ओटा बुँदालाई पनि हेर्दा अब नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार (केही कार्यभार त हामीले पुरा गरेकै हो) र समाजवादी क्रान्ति पूर्ण गर्ने रणनीति एउटैमा आएर केन्द्रित भएको छ भन्ने निष्कर्षतिर जान्छ । एक चोटि नयाँ जनवादी क्रान्ति सकौँ अनि त्यसपछि समाजवादी क्रान्ति भन्नेतिर भन्दा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार र जनविद्रोह, सशस्त्र विद्रोहद्वारा समाजवादी क्रान्ति पूर्ण गर्ने कुरा एउटैमा आएर केन्द्रित भएको छ । अब यसै गरी नयाँ ढङ्गले रणनीति र कार्यनीति बनाएर मात्रै कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी दिशा र भिजन दिन सकिन्छ । यतातिर यसले डो¥याउँछ, यो अहिले बहसका लागि हो । कम से कम सबै बुद्धिजीवीहरुले अध्ययन गरेर यो विषयमा प्रवेश गर्न थाल्ने हो भने पक्कै पनि नेपाली क्रान्तिलाई भावी दिनमा कता लाने भन्ने कुराले निश्चित आकार प्राप्त गर्दछ । अहिले जनतालाई एक हदसम्म कन्फ्युज छ, कता हो कता हो भन्ने छ, अब यत्ति नै हो कि भनेर एकथरी मान्छेलाई निराशातिर, यत्ति रहेछ भनेको जस्तो पनि भएको छ । एकथरी होइन यो त विचलनको परिणाम पो हो भन्दै फेरि परम्परातिरै फर्किने, २०५२ तिर फर्किन चाहने या २०२८ तिर फर्कने भने पनि हुन्छ, यी सबै सोचहरुमा वैचारिक द्विविधा वा विभ्रम देखा परेको छ । त्यस विभ्रमलाई तोड्नका लागि अहिलेको वर्गसङ्घर्षका ती विशेषताहरु, विज्ञान प्रविधिको विकासका विशेषताहरु, हाम्रो समाजको पनि जसरी एउटा गतिशील ढङ्गले परिवर्तन भइराखेको छ, त्यसलाई पनि हिसाब गरेर क्रान्तिको रणनीति र कार्यनीति निधो गर्नु जरुरी छ । 
चेतनाभन्दा प्रविधि अगाडि गएको भन्ने भान त दिँदैन यसले ?
चेतनाभन्दा प्रविधि अगाडि गएको भन्ने भान दिँदैन । पदार्थ र चेतनाको अन्तर्सम्बन्धबारे जे माक्र्सवादी विश्लेषण हो, त्यो पदार्थ जहिले पनि चेतनाभन्दा अगाडि नै हुन्छ । माक्र्स एङ्गेल्सले गरेको एउटा विश्लेषण यही हो । चेतना भनेको मानिसमा पर्ने पदार्थको प्रतिविम्बन नै हो, अन्तिम अर्थमा त्यसभन्दा अर्को होइन । यसको अर्थ चेतनाको भूमिका छैन भन्ने होइन । कुनै खास खास बेलामा फेरि चेतनाले पनि हस्तक्षेप चाहिँ गर्छ र पदार्थलाई पनि प्रभावित गर्छ भन्ने कुरा नै द्वन्द्वात्मक भौतिकवादको मुख्य सारतङ्खव हो । मैले अहिले भन्न खोजेको यो कुराले के गर्छ भने अहिले वस्तुस्थिति घटनाक्रम पदार्थ चाहिँ जहाँनेर पुगेको छ हामीले त्यसलाई त्यसरी नै प्रतिविम्बन पहिले चेतनामा गर्नु प¥यो । पुगेको एक ठाउँमा छ, हाम्रो चेतनाले चाहिँ धेरै वर्ष पहिलेकोतिर गइराख्यो भने त्यहाँ विरोधाभास पैदा हुन्छ । त्यसकारण पदार्थ र चेतनाको अन्तर्सम्बन्ध र त्यसको तादात्म्यलाई ठिक अनकूलन गराउनका लागि पनि अहिले आर्थिक, राजनीतिक, सांस्कृतिक विज्ञान प्रविधिमा भएको विकासले मान्छेको चेतनामा पारेको प्रभाव र असरलाई हामीले हस्तक्षेप गर्न सकेनौँ भने क्रान्ति सफल हुँदैन भनेर भन्न खोजेको हुँ ।
एकथरीले अब क्रान्तिको निर्णायक शक्ति मध्यम वर्ग हुन्छ भनेर भन्ने गरेका छन् नि, कुरा त्यता गयो कि कसो ?
कुरा त्यो होइन । बहसमा जाओस् भनेर मैले विषय उठाएको मात्रै हो । मध्यम वर्ग आफ्नो अवस्थितिकै कारणले क्रान्तिको नेतृत्व गर्न सक्दैन । पुँजीपति र सर्वहारा विपरीत वर्ग हुन् र ती दुइटाले दुई विचारको, दुई प्रणालीको प्रतिनिधित्व गर्दछन् । तिनैले नेतृत्व गर्नुपर्छ अन्त्यमा र तिनीहरुले गर्छन् पनि । क्रान्तिको निर्णायक शक्ति सर्वहारा वर्ग नै हो भन्ने कुरामा यसले असर पार्दैन र मैले त्यसो भन्न खोजेको पनि होइन । खालि कुरा के भने मजदुरहरुको माओले परिकल्पना गरेको बेलाको नयाँ जनवादी क्रान्तिको बेलाको स्थिति र अहिलेको विश्वको स्थिति अनि त्यसमा पनि अहिलेको नेपालको स्थिति फरक छ भन्न मात्रै खोजेको हो ।
जनसंविधान बन्न नदिए विद्रोहको तयारी गर्नु वा जनसंविधान निर्माण गरेर दलाल पुँजीपति वर्गलाई सत्ताच्युत गर्नु ! नेपाली जनक्रान्तिका यी दुई वैकल्पिक कार्यक्रममध्ये अध्यक्ष कमरेडले कुनलाई बढी सम्भव देख्नुहुन्छ ?
मेरो दृष्टिमा र हाम्रो पार्टीको आधिकारिक दृष्टिकोण पनि के हो भने अन्ततः हामीले क्रान्ति सम्पन्न गर्नलाई जनविद्रोह नै प्राथमिक कुरा हो, त्यसमा द्विविधा होइन । तर, हाम्रो अलिकति त्रुटि विगतमा के भयो भने हामीले विद्रोहको हल्ला बढी ग¥यौँ । विद्रोह सङ्गठित गर्नका लागि आवश्यक कार्यनीतिमा जुन गम्भीरता, जिम्मेदारी, जोड र योजना बनाउनुपथ्र्यो, हामी त्यतापट्टि कम लाग्यौँ । जनविद्रोह भन्यो भने वा अहिले नै जनविद्रोह भनेर प्रचार गरियो भने विद्रोह हुँदैन, मेरो बुझाइ अर्को त्यो हो । अहिले शान्ति र संविधान टुङ्ग्याउनका निम्ति बल ग¥यो भने त्यसले नै जनविद्रोह या त तपाईंहरुले भने जस्तो पहिलो तरिका वा यदि त्यसलाई बाधा पारियो भने जनताले प्रस्ट देख्छन् कि संविधान सभाको ठुलो पार्टी माओवादीले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन र संविधान बनाउनका निम्ति सर्वाधिक गम्भीर, जिम्मेवार पहल लिएको थियो तर यो कारणले भएन भन्ने भयो भने त्यही विन्दु नै आन्दोलनको ठुलो विन्दु हुन सक्छ । त्यही आन्दोलन विकसित भएर जनविद्रोहमा जान सक्छ, एउटा । दोस्रो, शान्ति र संविधान बन्यो भने त्यो बनेको शान्ति र संविधानले नै दलाल, पुँजीपति वर्गलाई अझ बढी तिनीहरुको अधिकार च्युत गर्दै जनताको अधिकारलाई अझ बढी संस्थागत गर्दै एउटा बिन्दुमा चाहिँ थोरैभन्दा थोरै रक्तपातबाट पनि क्रान्ति पूर्ण हुन सक्छ । यी दुइटै सम्भावना छन् । मेरो भनाइ के हो भने जनविद्रोहको हल्ला बढी भयो भने जनविद्रोह चाहिँ हुँदैन, अहिलेको स्थिति त्यही हो । शान्ति र संविधान भनेर मात्रै हामी जनतालाई प्रशिक्षित पनि गर्न सक्छौँ र फेरि त्यो शान्ति र संविधान भन्ने भनेको जनविद्रोह गर्नका लागि भनेर पनि होइन । शान्ति र संविधानै निर्माण गर्नकै लागि तयार गरिने शान्ति र संविधानको कार्यनीतिले मात्रै क्रान्तिलाई पूर्णतामा लान सक्छ । यो कुरा लेनिनहरुले असाध्यै राम्रोसँग बुझेका थिए । पहिले सैद्धान्तिक व्याख्या गर्दा, सैद्धान्तिक बहस गर्दासम्म त चाहे त्यो दुई कार्यनीतिको कुरा होस् या एक कदम अगाडि दुई कदम पछाडिको कुरा गर्दा होस् या थुप्रै सैद्धान्तिक रचनाहरुमा जनवादी क्रान्तिका बारेमा, समाजवादी क्रान्तिका बारेमा, क्रान्तिको बाटोका बारेमा थुप्रै चर्चाहरु भए । तर क्रान्तिको निकट पुग्दै जाँदा खेरि क्रान्ति आम जनताले सजिलैसँग आत्मसात गर्न सक्ने नारामा गएर केन्द्रित हुँदो रहेछ । ठुलठुला कुरा ग¥यो भने अन्त्यमा, क्रान्तिलाई निर्णायक धक्का दिनु पर्ने बेलामा, त्यो विन्दुमा चाहिँ जनता साथमा हुँदैन । सचेत सर्वहारा वर्गको नेतृत्वदायी वर्गले मात्रै त्यो सैद्धान्तिक बहसमा स्पष्ट हुनु पर्ने, बहसमा भाग लिनु पर्ने, त्यसमा खारिनु पर्ने विषय हो । अनि त्यही अनुरुप जनतालाई प्रशिक्षित गर्ने कुरा हो । नेतृत्व जस्तै आम जनता पनि खारिइसक्छ भनेर सोच्नु गलत हुन्छ । आम जनताले वर्गसङ्घर्षको विकाससँगसँगै उनीहरुको जीवनमा सकारात्मक प्रभाव कुन नाराले पार्छ भन्ने हेर्छ । जतिबेला लेनिनले शान्ति, रोटी र जमिन भन्नुभयो, युद्धबाट थाकेका मानिसहरु थिए । युद्ध अन्त्य भइदिए हुन्थ्यो भन्ने सबैको चाहना थियो । त्यसकारण उहाँले शान्तिको नारा दिनुभयो । अनिकाल पर्न लागेको थियो, रोटीको नारा दिनुभयो । जताततै हाहाकार, खाद्यान्नको अभाव भइरहको थियो । किसानहरुलाई जमिनको नारा । एकदम सरल छ नि यो नारा । उता विश्वयुद्ध चलिरहेको छ, मान्छेहरु मरिरहेका छन्, हिजोका ती ठुलठुला कुरा त कता गए गए । शान्ति, रोटी, जमिन । यसका निम्ति जनता सङ्गठित गर्नुपर्छ भनेर नेतृत्व बोल्सेभिकले लिँदा विद्रोह सफल भयो । यो कुराको महङ्खवलाई हामी यहाँका कम्युनिस्टहरुले पनि गम्भीर रुपले ध्यान दिनु पर्छ भन्ने मेरो विशेष जोड हो । 
आज पार्टीभित्र सञ्चालित दुई लाइन सङ्घर्षका विषयहरू के के हुन् ? पार्टी नेतृत्व बुर्जुवा लोकतन्त्रमा मात्रै सीमित हुन चाहेको हुनाले सङ्घर्ष गर्र्नु परेको केही कमरेडहरूले बताइरहनु भएको छ नि ?
केही कमरेडहरुले जे भनिराख्नु भएको छ, त्यो कुराप्रति उहाँहरु साँच्चै इमान्दार हो कि हैन भन्ने एउटा विषय छ । तर, जे भए पनि मलाई के लाग्छ भने अहिले हाम्रो पार्टीभित्र चलेको दुई लाइन सङ्घर्ष या अरु पार्टीभित्र पनि विभिन्न रुपमा चलिरहेका सङ्घर्षहरु यथार्थमा नेपाली समाजको आजको वर्गसङ्घर्षका प्रतिविम्बन हन् । सबैभित्र कहीँ न कहीँ अलिकति राष्ट्रवादी, अलिकति परिवर्तनकारी झुकाव र सबैभित्र अलिकति यथास्थितिवादी र सुधारवादी झुकाव कम बेसी छन् । यो पहिलो कुरा हो । दोस्रो कुरा, हाम्रोभित्र अहिले केन्द्रित रुपमा कहाँनेर बहस हो त भन्दा क्रान्तिलाई पुनरावृत्तिको अर्थमा, कुनै देशको क्रान्तिको यान्त्रिक नक्कल र अन्धानुकरणको अर्थमा या सिद्धान्तलाई जडताको अर्थमा लिने कि क्रान्तिलाई विकासको अर्थमा, पुनरावृत्ति होइन, विकास हुने अर्थमा लिने, सिद्धान्तलाई परिस्थितिको विकाससँगै समृद्ध गर्ने र नयाँ विकास गर्ने अर्थमा बुझ्ने र परिवर्तन जो हाम्रो वरिपरि भइरहेको छ त्यसलाई कसरी आत्मसात् गर्ने भन्नेमा परिरहेको छ । यसलाई अझ सरल भाषामा भन्ने हो भने परम्परागत क्रान्तिकारी गतिविधि, यसका रुपहरु, जो हामीले लियौँ तिनीहरुलाई पछ्याउने कि परिवर्तित परिस्थिति अनुसार वर्गसङ्घर्षका, क्रान्तिकारी सङ्घर्षका नयाँ रुपमहरुको खोजी गरेर अगाडि बढ्ने भन्ने पनि हो । सङ्गठनको पनि हिजोकै ढाँचाकाँचालाई जस्ताको तस्तै लिएर जान बल गर्ने कि नयाँ परिस्थिति अनुसार नयाँ सङ्गठनका ढाँचाहरुको विकास गर्न बल गर्ने भन्ने यी सबै शृङ्खला यसभित्र आउँछ । तर यो कुरा त्यति स्पष्ट छैन जति अहिले मैले भन्दा स्पष्ट सुनिन्छ । पार्टीभित्र चलेको सङ्घर्षमा त्यो त्यस्तरी नै स्पष्ट छैन किनभने हाम्रो पार्टीमा प्रवृत्तिहरुभन्दा एउटा निम्न पुँजीपति वर्गको अलि सुधारवादतिर झुकाउ भएको प्रवृत्ति, उच्च मध्यम वर्गतिर अलिकति झुकाउ भएको प्रवृत्ति, बुर्जुवासँग अलि नजिक हुन चाहने, बुर्जुवालाई अलि बढी विश्वास गर्ने, बुर्जुवा आदर्शप्रति अलि बढी झुकाउ भएको एउटा प्रवृत्ति छ । एउटा असाध्यै सङ्कीर्ण, असाध्यै यान्त्रिक त्यो चाहिँ निम्न पुँजीपति वर्गको, झन्नै झन्नै त्यो तप्का अलि लम्पट सर्वहाराको नजिक छ, एकदम अराजक छ । त्यो कुनै पद्धतिमा छैन । यी दुइटा प्रवृत्तिमध्ये अहिले यतिबेलाको सङ्घर्ष अलि बढी यान्त्रिक सङ्कीर्ण, निम्न पुँजीपति वर्गको लम्पटको नजिकको प्रवृत्तिसँग हो । यी दुबै निम्न पुँजीपति वर्गका प्रवृत्तिहरुको कुनै भर हुँदैन । कहिले यिनीहरुले बडो उग्र क्रान्तिकारी नारालाई अघि सारेर भ्रम दिने कोसिस गर्छन्, कहिले असाध्यै दक्षिणपन्थी र पत्याउनै नसिकने गरेर बुर्जुवाहरुसँग वा त्यहाँभन्दा पनि पछि हटेर पुराना सामन्तहरुसँग गएर साँठगाँठ गर्न समेत यिनीहरुले केही गारो मान्दैनन् । त्यसकारण भन्दाखेरि त सैद्धान्तिक रुपले त यो प्रवृत्ति भन्नु पर्ने तर मैले जे मान्छेहरुलाई हेरिरहेको छु, प्रतिनिधि पात्रहरुलाई हेर्दा अहिले सबैभन्दा क्रान्तिकारी कुरा गर्ने, लौ विचलन आयो भन्नेहरु चाहिँ सामन्तीहरुका नजिक छन् । नेपालका हिजोका राजा महाराजा, मण्डलेहरुसँग यिनीहरुको बढी साँठगाँठ भएको मैले देखिरहेको छु । लम्पट प्रवृत्तिको भएको हुनाले तिनीहरुको आफ्नो स्वार्थमा नै बढी केन्द्रित हुन्छन् तिनीहरु । जरुरी प¥यो भने त्यो जसलाई बुर्जुवा सुधारवादी भन्यो त्यससँग गएर घुँडा टेकेर पुरै त्यसैलाई जी हजुरी गर्न पनि त्यसले केही गारो मान्दैन भन्ने कुरा पनि हामीले देखिसकेका छौँ । त्यसकारण एउटा आदर्शका निम्ति लडिरहेका कुनै प्रवृत्ति हुन् भनेर सोचियो भने त्यो मनोगत हुन्छ । निम्न पुँजीपति वर्गको दक्षिण र वाम प्रवृत्तिहरु हुन् । यी कहिले झगडा गरे जस्ता देखिन्छन्, कहिले सजिलैसँग मिल्छन् तर अन्ततः मिल्छन् । अन्ततः उनीहरुले क्रान्तिलाई क्षति पुग्ने, क्रान्तिकारी विचार र नेतृत्वलाई विध्वंश गर्ने काममा तिनीहरुको जहिले पनि समान सोचाइ भइराख्छ । यसरी हेर्दा के लाग्छ भने दुई महिना अगाडि ती दुबै प्रवृत्ति मिलेको देखिन्छ, दुई महिना पछि हेर्दा अर्को ठाउँमा मिलेको देखिन्छ । कहिले सामन्तहरुसँग साँठगाँठ गर्न पुगेको हुन्छ, कहिले बुर्जुवासँग साँठगाँठ गर्न पुगेको हुन्छ, कहिले फेरि चर्का चर्का नारा दिएर एक दुई दिन मुर्खतापूर्ण गतिविधि गरेर चकाचौँध गर्न सकिन्छ कि भन्ने सपना देखेको हुन्छ । जब कि त्यस्तो हुँदैन । हरेक चीज नियममा हुन्छ । त्यो नियमसँग यो गइरहेको छैन । त्यसकारण अहिले दुई लाइन सङ्घर्षको कुरा गर्दा म के ठान्छु भने माक्र्सवाद र अवसरवादका बीचको सङ्घर्ष हो यो । त्यसभन्दा अरु हो जस्तो मलाई लाग्दैन ।
दुई लाइन सङ्घर्षलाई व्यवस्थित गर्न पार्टी केन्द्रले पाँचबुँदे विधि तय गरेको थियो । उक्त विधि अनुसार भन्दै आज पार्टीमा समानान्तर कमिटीहरूको गठनदेखि राष्ट्रिय भेलासम्मका गतिविधिहरू भइरहेका छन् । दुई लाइन सङ्घर्ष स्थायी प्रकृतिका विचार समूहको तहमा पुगेको अवस्था छ । के पाँचबुँदे विधि अपर्याप्त भएको हो ? स्थायी विचार समूह दुई लाइन सङ्घर्षमा हुन्छ कि हुँदैन ?
पाँचबुँदेको पालना भएन । पाँचबुँदे अपर्याप्त भएको भन्ने भन्दा पनि पाँचबुँदे बढी भएको देखिन्छ । पाँचबुँदे बढी भयो । त्यसकारण पाँचबुँदेलाई हटाएर जनवादी केन्द्रीयताको एउटै बुँदामा ल्याउनु पर्ने आवश्यकता बढी देखिएको छ । निम्न पुँजीपति वर्गको दायाँ अथवा बायाँले सर्वहारा वर्गको अनुशासन, सर्वहारा वर्गको पद्धतिलाई मान्दैन, त्यसले तोडदिन्छ । त्यो तोड्नु उसका लागि केही हो जस्तो लाग्दैन किनभने दार्शनिक रुपमा नै ऊ गलत भएको हुनाले पद्धति र सिद्धान्तलाई त्यसले मान्दैन । त्यसैले ऊ आफैँ पाँचबुँदे बनाउँछ, आफैँले त्यसलाई भोलिपल्टैदेखि तोड्न थाल्छ । आफैँले एउटा सहमति गर्छ र भोलिपल्टैदेखि तोड्न थाल्छ । यसले पनि के देखाउँछ भने पार्टीभित्र जुन अवसरवाद देखा परेको छ, त्यो कुनै पद्धतिभित्र बस्दैन । त्यो विघटन र विसर्जन नहुँदासम्म भाँडभैलो पारिराख्छ । हाम्रो पार्टी केन्द्रकै कुरा गर्दा हामीले अहिले आउने केन्द्रीय समितिको बैठकमा गम्भीर छलफल गरेर, समीक्षा र रुपान्तरण गरेर जाने कुरा भएको छ । आशा गरौँ, सबैले आ–आफ्नो ठाउँबाट आ–आफ्ना गल्तीलाई महसुस गरेर फेरि एउटा माक्र्सवादी सर्वहारावर्गीय पद्धतिमा सबै आउँछन् भनेर हामीले आशा गर्नुपर्छ, मेहनत पनि त्यही वातावरण बनाउनका लागि गर्नुपर्छ । 
विचार समूह स्थायी हुनु हुँदैन । पार्टी नै अगाडि जानु पर्छ । पार्टी एकीकृत र केन्द्रीकृत नै हुनु पर्छ । माक्र्सवादी सिद्धान्त र कम्युनिस्ट आन्दोलनको विकासले स्पष्ट गरेको कुरा हो, तर अहिले नेपाली राजनीति जसरी विशिष्ट र सङ्क्रमणकालीन स्थितिमा छ, त्यो अवस्थामा अस्थायी रुपमा यसलाई एउटा उद्देश्यमा जाने कुरा स्पष्ट गरेर आलोचना–आत्मालोचनाद्वारा ठिक गर्न सकिन्छ तर यदि यसो भएन भने स्थायी विचार समूहका कारण या त पार्टीमा विभाजन आउँछ या ती प्रवृत्तिहरु विसर्जन भएर सिद्धिन्छन् । 
हाम्रो पार्टीमा हाल चलिरहेको सङ्घर्ष कति वैचारिक, राजनीतिक र कति गुटगत, व्यक्तिगत वा प्राविधिक हो ?
पार्टी केन्द्रीय समितिको निर्णय विपरीत, पार्टीको नेतृत्व विपरीत संसारकै कम्युनिस्ट आन्दोलनमा कहीँ नदेखिएको अराजकता र गुटवाद हामीकहाँ अहिले देखा परेको छ । यो हेर्दा मलाई त्यहाँ जतिसुकै विचारको जामा पहि¥याउने र विचारको ब्यानर झुन्ड्याउन खोजे पनि यो अलि बढी नै गुटगत, अलिकति बढी नै व्यक्तिगत स्वार्थबाट प्रेरित छ भन्ने लाग्छ । किनभने, अहिले बाहिर जे भन्न गरिएको छ, जे ब्यानर देखाइएको छ, यथार्थ त्यो होइन । यथार्थ यसको ठिक विपरीत छ । त्यसकारण म यसलाई त्यति धेरै वैचारिक प्रवृत्तिको छ भन्नु उचित देख्दिनँ । यो विशुद्ध गुटगत छ, व्यक्तिगत छ, निम्न पुँजीपति वर्गको एउटा स्वार्थमा आधारित छ । 
पार्टीभित्रको सङ्घर्ष सीमाहीन ढङ्गले अभिव्यक्त भइरहेको छ । एकाथरीले यहाँलाई आपत्तिजनक आरोपहरू मात्र लगाइरहेका छैनन्, सडकजाम र राँके जुलुस समेत प्रदर्शन गरिरहेका छन् । यस्तो खालको सङ्घर्षले आन्दोलनमा कस्तो प्रभाव पर्ला ?
यसले आन्दोलनले निश्चय नै नकारात्मक असर गर्छ । यो राम्रो कुरा होइन, नराम्रो कुरा नै हो । यसले आम जनता, क्रान्तिकारी कार्यकर्ता, समर्थक शुभ चिन्तकमा एउटा ठुलो चिन्ता मात्रै जन्माएको छ । यसले कुनै सकारात्मक सन्देश दिएको छैन । यो राम्रो कुरा होइन तर फेरि यो नराम्रो हुँदाहुँदै पनि नराम्रोभित्र केही राम्रो पनि मैले देख्छु । जो साथीहरुले राँके जुलुस र चक्का जाम गर्नु भयो, उहाँहरुको हालत अहिले हे¥यो भने धेरै नै कमजोर भयो । धेरै मान्छे स्पष्ट भए । हिजो ती चक्का जाम गर्ने साथीहरुको भ्रममा भएका मधेसका राज्य समिति, केन्द्रीय र जिल्ला समितिको ठुलो लहर नै यतापट्टि त हैन रहेछ, गलत रहेछ, गल्ती गरिएछ भन्ने प¥यो । त्यस नकारात्मक गतिविधिले थुप्रै इमान्दार नेता कार्यकर्ताहरुलाई सही लाइन र नेतृत्वको पक्षमा स्पष्ट हुन मद्दत पुग्यो, अहिले पनि पुगिरहेको छ । पूर्व, मध्य, पश्चिम सबैतिर यस्तो देखिन्छ । यस्तो प्रवृत्ति मैले सबैभन्दा बढी मधेसमा देखेँ । नकारात्मक हुँदाहुँदै पनि यथार्थ बुझ्न यसले सबैलाई मद्दत गरेको छ । 
हाम्रो पार्टी इतिहासका दुई लाइन सङ्घर्षका खास खास मोडहरू कुन कुन हुन् ? ती मोडहरूमा पार्टीले कस्ता कस्ता प्रवृत्तिहरूविरुद्ध कसरी विजय हासिल ग¥यो ? 
छोटोमा भन्दा नेपाली कम्युनिस्ट आन्दोलनको कुरा गर्दा पार्टी गठन भएदेखि २०१९ सालसम्म भएको अन्तर्सङ्घर्षलाई एउटा चरण भन्न सकिन्छ । त्यति बेला पार्टी एकीकृत नै रह्यो, अन्तर्सङ्घर्ष धेरै भए पनि । २०१९ सालको महाधिवेशनपछि जो विभाजनको शृङ्खला सुरु भयो, रुस–चीनको महाविवादसँगै यो विभाजनको प्रक्रिया र हाम्रो आन्तरिक सङ्घर्ष पनि चल्यो । त्यसलाई एउटा चरण मान्नु पर्ने हुन्छ । त्यसपछि फेरि २०२५–२६ सालबाट पार्टी पुनर्गठन गर्ने, पुनः एकीकृत गर्ने एउटा नयाँ पहल आउँछ र त्यो पहलको प्रक्रियामा दुइटा प्रवृत्तिहरु, खास गरी माओवादी आन्दोलनभित्र नयाँ जनवादी क्रान्तिको धारा (२०२८ सालको झापा विद्रोहको धारा र केन्द्रीय न्युक्लियसको धारा) देखा प¥यो । यसलाई दोस्रो भन्न सकिन्छ । तेस्रो, २०३८ सालतिर आएर एक अर्कामा रुपान्तरण भए जस्तो भएको छ । कोअर्डिनेसन केन्द्रबाट झापा विद्रोह हुँदै क्रान्तिकारी पहिचानमा आएको तत्कालीन माले दस वर्षको अन्तर्सङ्घर्ष, वर्गसङ्घर्षपछि त्यो पार्टी फेरि सुधारवादतिर माक्र्सवादको संशोधन गर्नेतिर गयो । अर्कातिर चौथो महाधिवेशनभित्र जो सारसङ्ग्रहवादी धार थियो, खास गरेर मोहन विक्रमको सारसङ्ग्रहवादी धाराभित्र विद्रोह भएर क्रान्तिकारी धारा अगाडि आयो । त्यसकारण २०३८ साललाई पनि एउटा मोड मान्न सकिन्छ । यता २०४६ सालको आन्दोलन वरिपरि आएपछि त्यो एउटा नयाँ कम्युनिस्ट आन्दोलनमा धु्रवीकरणको प्रक्रिया देखा प¥यो । एउटा सुधारवादीमा पनि केन्द्रित हुने र अर्को क्रान्तिकारीमा केन्द्रित हुने । सुधारवादीको केन्द्रीकरण एमालेको रुपमा भएर गयो भने क्रान्तिकारीको केन्द्रीकरण एकता केन्द्र जुन पछि माओवादी भयो, त्यो रुपमा भएर गयो । त्यसकारण २०४६ साल आसपासलाई एउटा मोड भन्न सकिन्छ । त्यसपछि २०५२ साल जहाँ जनयुद्ध सुरु भयो र त्यसपछि नेपालको राजनीति र कम्युनिस्ट आन्दोलनमा विचारधारा, राजनीति सबै क्षेत्रमा एउटा नयाँ बहसलाई जन्म दियो र परिवर्तनको एउटा नयाँ प्रक्रिया थालनी भयो । त्यसलाई अर्को चरण मान्नु पर्छ । त्यसपछि शान्ति प्रक्रियामा प्रवेश गरेपछिको ध्रुवीकरण जो अहिले भइरहेको छ, यसलाई अर्को मोड मान्न सकिन्छ । नेपालको कम्युनिस्ट आन्दोलनका मोटामोटी मोडहरु यिनै हुन् । 
माओवादीभित्रको मात्रै हेर्ने हो भने २०३८ सालमै जानु पर्ने हुन्छ जतिबेला चौथो महाधिवेशनभित्र मोहन विक्रम, निर्मल लामाहरुका बीचमा एउटा सङ्घर्ष भयो र २०४० सालमा लामाजीहरुसँग सङ्घर्ष भयो । २०४१ सालमा आएर मोहन विक्रमसँग सङ्घर्ष भयो र २०४२ सालमा गएर त्यो टुङ्गियो । यी सबै विभाजनमा नै टुङ्गिए । त्यसपछि २०४५ सालसम्म जाँदा पुनर्गठनको एउटा नयाँ प्रक्रिया क्रान्तिकारी धाराका साथ सुरु भयो । २०४६ सालमा तत्कालीन मशालमा नेतृत्व परिवर्तन भएर प्रचण्ड महामन्त्री भइसकेपछि अन्तर्सङ्घर्ष पुरानो ढर्राको रहेन, एकदम नयाँ भयो । कम्युनिस्ट आन्दोलनमा जुन ढर्रा चलेर आइरहेको थियो, २०४६ सालमा नेतृत्व परिवर्तन हुने बित्तिकै सबैभन्दा पहिला सम्पूर्ण माओवादीहरुलाई एकताबद्ध गर्ने प्रयास सुरु भयो । दोस्रो, विगतमा भएका फुट त्यति धेरै सैद्धान्तिक भएका छैनन्, व्यक्तिगत रिसइबी झगडा पनि त्यहाँ मिसिएका छन् र क्रान्तिकारीहरु सबैतिर विभाजित भए, अवसरवादीहरु पनि सबैतिर विभाजित भए । त्यसकारण अवसरवादीहरुलाई एकातिर जान दिऊँ, क्रान्तिकारीहरुलाई एकातिर लिएर जाऔँ भन्ने स्पिरिटका साथ २०४६ सालपछि एकता केन्द्र बनाउने प्रक्रिया सुरु भयो । तत्कालीन सर्वहारावादी श्रमिक सङ्गठन मसाल, मशाल र चौथो महाधिवेशनलाई मूलभूत रुपमा एकै ठाउँमा ल्याउने कामको सुरुवात प्रचण्डको नेतृत्वमा समूह पुनर्गठन भएपछि नै सुरु भयो । पुरानो ढर्रा के थियो भने एउटाले अर्कालाई गाली गर्ने, ध्वस्त पार्ने, आफूले केही गरेर भन्दा अरुलाई बेस्सरी गाली गरेर अगाडि बढ्ने असाध्यै नकारात्मक प्रवृत्ति थियो । २०४६ सालको त्यो नेतृत्व परिवर्तनपछि एकतातिर र क्रानीतितर जान थाल्यो । नभन्दै एकता केन्द्र पनि बन्यो । त्यहाँभित्र फेरि क्रान्तिकै लागि बहर भयो । क्रान्तिका लागि दायाँ बायाँ पनि गरियो । चुनावमा भाग लिएपछि त संशोधनवादी भइहाल्छ भन्ने सोचाइ थियो । त्यस्तो होइन, चुनावमा भाग लिएपछि संशोधनवादी हुने खतरा त हुन्छ तर भाग लिएपछि भइहाल्छ भन्ने होइन । ठुलो बहस गरियो त्यहाँ । हामीले कतिसम्म बहस ग¥यौँ भने रिमले हामीलाई त निकालि नै दियो, यो संशोधनवादी भयो भनेर । चुनावमा भाग नलिने भनेको हुनाले मोहन विक्रम मात्र क्रान्तिकारी बाँकी रह्यो भनेर अन्तर्राष्ट्रिय क्षेत्रमा भनियो । रिमले त्यही मात्रै भनिराख्यो तर हामीले त्यसलाई बेवास्ता ग¥यौँ । यो सही होइन, यो माक्र्सवादसम्मत छैन, नेपालको अहिलेको अवस्थामा सीमित उपयोगको नीति नै सही हो भनियो । उता जनयुद्धको तयारी गरिसकेको पार्टी हो नि त हामी, छापामार तालिम लिएर हतियार जम्मा गरेर सुरु गर्ने भनेको जनआन्दोलनले जस्तो वातावरण बनायो, त्यतिबेला चुनावमा भाग लिनु पर्छ भनेर भनियो । त्यतिबेला पनि अन्तर्सङ्घर्ष थियो । एकता केन्द्र बनाउनु हुँदैन, चुनावमा भाग लिनु हुँदैन भन्ने प्रवृत्ति थियो तर त्यसले त्यति धेरै साहस गर्न सकेन र ठुलो रुप लिएन, छन् चाहिँ थियो । त्यतिबेला कस्तो कस्तो सङ्घर्ष भएको थियो र कसले कुन प्रवृत्तिको नेतृत्व गरे भनेर तिनको नाम भन्ने बेला अहिले भएको छैन । एकता केन्द्र बनिसकेपछि चुनावको उपयोग गरियो । अन्तर्सङ्घर्षकै बीचबाट त्यो लाइन पारित गराइयो । चार पाँच वर्ष त्यसको अभ्यास गरियो । त्यही क्रममा ग्रामीण वर्गसङ्घर्षको तयारी गाउँ गाउँमा र केन्द्रीय योजनाको निर्माण राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा फौजी सङ्घर्षको तयारी यही अवधिमा गरियो । हामीले के साबित ग¥यौँ भने एक चोटि चुनावमा भाग लिँदैमा दक्षिणपन्थी भइहालिन्छ भन्ने कुरा सत्य होइन । विभिन्न समूहसँग एकता गर्ने बित्तिकै त्यो पार्टी दक्षिणपन्थी सम्झौतावादी भइहाल्छ भन्ने कुरा पनि सत्य होइन । त्यसो गरेर पनि पार्टी फेरि जनयुद्धमा आउन सक्छ भन्ने कुरा हामीले नै देखायौँ । यसलाई एउटा महङ्खवपूर्ण परिघटनाकै रुपमा बुझ्नु पर्छ । नेपालको त्यसभन्दा अगाडिको कम्युनिस्ट आन्दोलनमा माओवादी भन्नेहरु असाध्यै सङ्कीर्ण र यान्त्रिक हुने माओवाद र माओ विचारधाराको विरोध गर्नेहरु असाध्यै संशोधनवादी हुने त्यहाँ कहीँ मेल नै नहुने खालको जुन स्थिति थियो, त्यसले त्यो चिन्तन पद्धति (परम्परागत, जड, यान्त्रिक) मा ठुलो वज्र प्रहार गरियो । त्यहाँ निकै ठुलो कसरत भएको थियो । त्यतिबेला माथि भएको लडाइँ अहिलेको भन्दा कम थिएन तर त्यसमा हामी विजयी भयौँ र आखिर २०५२ सालमा जनयुद्ध सुरु भयो । मानिसहरुलाई जनयुद्ध हुँदैन भन्ने थियो । अहिले जनयुद्ध छोड्यो भन्नेहरु नै त्यतिबेला जनयुद्ध सम्भव छैन भन्थे । यहाँ यो बिचित्र छ । त्यतिबेला सुरु गर्ने बेलामा जनयुद्ध हुन सक्दैन भन्ने मान्छेहरु अहिले नेतृत्वले जनयुद्ध छोड्यो भन्छन् । ती त्यतिबेला पनि विरोधी थिए, अहिले पनि विरोधी छन् । जनयुद्ध सुरु हुने बित्तिकै एउटा प्रवृत्ति असाध्यै यान्त्रिक, भावनात्मक प्रवृत्तिसँग पार्टीको सङ्घर्ष प¥यो । त्यो निकै ठुलो सङ्घर्ष थियो । झन्डै जीवन मरणकै सङ्घर्ष थियो । त्यसपछि चौथो विस्तारित बैठकमा गएर नेतृत्वलाई केन्द्रित गर्ने या विकेन्द्रित गर्ने भन्ने खालको बहस चल्यो । एकीकृत र केन्द्रीकृत नेतृत्वले क्रान्तिलाई हाँक्ने हो कि समानान्तर खालको वा विकेन्द्रित नेतृत्व रहन दिने भन्ने बहस पनि निकै नै चर्को भयो । त्यो चर्को बहसमा बाहिर देखिँदाखेरि एउटा प्रवृत्ति देखिन्थ्यो, भित्रको सङ्घर्ष चाहिँ अर्को प्रवृत्तिसँग परेको हुन्थ्यो । यसको द्वन्द्वात्मकता पनि बिचित्रको छ । बाहिर देखिँदाखेरि त अलि सुधारवादीसँग निकै चर्को परेजस्तो देखिन्थ्यो । सबैले त्यरी नै बुझ्थे तर भित्र वास्तविक लडाइँ चाहिँ सङ्कीर्णतावादीहरुसँग पथ्र्यो । चौथो विस्तारित बैठकमा यस्तै थियो । त्यहाँबाट पार भएर आधार इलाकामा गएपछि नेतृत्वको शक्ति र प्राधिकार अलि बढ्यो । त्यसपछि नेपाली क्रान्ति पुरानो तरिकाबाट हुँदैन भन्ने भएर दीर्घकालीन जनयुद्ध र आम सशस्त्र विद्रोहको फ्युजन भन्ने कुरा आयो । परम्परागत क्रान्तिको बाटोबाट सफल हुन सक्दैन भन्ने निष्कर्षतिर पुगियो । अहिले केही साथीहरुले दोस्रो राष्ट्रिय सम्मेलनबाटै गल्ती भएको छ भन्ने सुनिन्छ, मेरो अगाडि त कसैले भनेका छैनन् । कसैले यसलाई कन्फ्युजन भन्छन् भन्ने सुनिन्छ तर त्यहाँदेखि हामीले माक्र्सवादलाई विज्ञानका रुपमा आत्मसात गर्न थाल्यौँ । त्यसभन्दा अघि माक्र्सवादलाई धर्मशास्त्रका रुपमा, जड वस्तुका रुपमा लिने चलन थियो । त्यहाँबाट विज्ञानका रुपमा अगाडि बढ्ने, जिकज्याकबाट अगाडि बढ्ने प्रक्रिया सुरु भयो । त्यहीँबाट संविधान सभा भनियो, शान्ति प्रक्रियाको कुरा गरियो । त्यसलाई एकमतले पारित त गरियो तैपनि त्यहाँ विभिन्न प्रवृत्तिहरु पनि थिए । त्यसपछि आउँदा चुनवाङ नै आउँछ । चुनवाङभन्दा अगाडि फुन्टिवाङ, लावाङ, मैसुर आदि बैठकहरु भए । यसको विस्तृत व्याख्या अहिले सम्भव छैन ।
पार्टीभित्रको दुई लाइन सङ्घर्ष सञ्चालनमा लेनिन, माओपछि हामीले नेपालमा थप गरेका विचार र विधि केही छन् कि ?
नेपालमा हामीले नेपाली कम्युनिस्ट आन्दोलनका सबै सकारात्मक नकारात्मक चीजहरु जे भए ती सबैलाई हेर्दा दुई लाइन सङ्घर्षको दृष्टिकोणले पनि, विचारको विकासको दृष्टिकोणले पनि माओवादी जनयुद्धले नै एउटा नयाँ ठाउँमा यसलाई विकास गरेको हो । हामीले एक्काइसौँ शताब्दीमा जनवादको विकास सम्बन्धी प्रस्तावमा जे भन्न खोजेका छौँ, हामीले त्यसलाई नामाकरण गर्दा प्रचण्डपथ भन्यौँ, अहिले त्यस्तो त छैन तर विचारको विकास त भइरहेको छ । यो पनि दुई लाइन सङ्घर्षको विधि र कम्युनिस्ट आन्दोलनको विचारको विकासमा नयाँ प्रयोग भन्नु पर्छ । अहिले जुन डर लाग्दो स्थिति छ, मैले कहिले काहीँ सम्झन्छु, नेतृत्वको महङ्खवलाई गिराउने, केन्द्रीकरणको विरोध गर्ने, नेतृत्वलाई बदनाम गर्ने जुन उत्कर्षमा अहिले पुगेको छ, अहिले कल्पना गर्न नसक्ने गरी जो मानिसले यस्तो गरिरहेका छन् तिनैले हिजो कल्पनै गर्न नसक्ने गरी राम्रो भन्थे । तर मलाई के लागेको छ भने दुई लाइन सङ्घर्ष किन यस्तो भयो त भनेर हेर्दा मैले शान्ति प्रक्रियामा आइसकेपछि विभिन्न समूहसँग एकता भयो, विभिन्न व्यक्तित्वहरुसँग एकता भयो, ध्रुवीकरण हुँदै गयो र त्यो धु्रवीकरणलाई अझ बृहत्तर बनाउनका निम्ति अझ विचार संश्लेषणलाई नयाँ उचाइमा उठाउनका निम्ति मेरै प्रस्तावमा प्रचण्डपथलाई अहिले स्थगित गरौँ, यसलाई आन्तरिक विषय बनाएर बाहिर रोकौँ भनेर भनेँ । मैले दुनियाँमा कहीँ पनि यस्तो देखिनँ । पछि मैले अन्यत्रका मुख्य नेतृत्वले यस्तो गरेका छन् कि छैनन् भनेर हेर्न खोजेँ, यद्यपि आठौँ महाधिवेशनमा गएर माओ विचारधारा हटाइयो तर त्यो माओको प्रस्तावमा हटाइएको थियो । माओलाई अल्पमतमा पारेर लिउ साओ ची, तेङ साओ पिङहरुले नेतृत्व लिएर माओलाई पुरै माइनस गर्न सम्भव नभएपछि अध्यक्ष पद चाहिँ दिइराखेर माओ विचार चाहिँ बन्द गरियो । अथवा नेतृत्वलाई केन्द्रीकृत गर्ने कुरालाई, विचार र विधिलाई केन्द्रित गर्ने कुरालाई मुख्य नेतृत्वले नै खतरा मोलेको मैले देखिनँ । तर हामीकहाँ त्यस्तो भयो । सबै बुद्धिजीवी साथीहरुले यसको हिसाब गर्नु पर्ने भयो । कहिलेकाहीँ त मलाई यो बेठिक गरिएछ कि भन्ने पनि लाग्छ । त्यो प्रचण्डपथ राखिराखेको भए अहिले मान्छेलाई धेरै गारो पथ्र्यो । त्यो हटाइदिएर बाँदरलाई लिस्नो जस्तो भएछ । प्रचण्डपथले नियन्त्रण गरिराख्दो रहेछ भनेको जस्तो कहिलेकाहीँ मलाई अनुभूति हुन्छ । अहिले त सबै प्रचण्ड जस्ता भए तर मेरो अहिलेको निष्कर्ष चाहिँ यो होइन । त्यसो गरेर माओवादी पार्टीलाई जसरी एकताबद्ध गरियो र विशाल कम्युनिस्ट शक्तिलाई ध्रुवीकरण गरेर एउटा क्रान्तिकारी आन्दोलनलाई नयाँ ढङ्गले लाने एउटा आधार बन्यो । प्रचण्डपथलाई बेठिक भनेर हटाइएको होइन, स्थगित गरियो बाहिरबाट र भित्र आन्तरिक बहसमा लाने भनियो । महाधिवेशनमा गएर टुङ्ग्याउने भनिएको हो । यस दृष्टिकोणले सैद्धान्तिक गल्ती भएको जस्तो त मलाई लाग्दैन तर प्राविधिक र व्यावहारिक ढङ्गले कहाँ असर प¥यो त भनेर हेर्दा २०५७ सालमा प्रचण्डपथ भनेदेखि शान्ति प्रक्रियामा आउँदासम्मको पाँच वर्षको अवधि र शान्ति प्रक्रियामा आएर प्रचण्डपथ स्थगित हुँदाको विश्लेषण मैले जरुरी देखेको छु । 
नेपाली कम्युनिस्ट आन्दोलनमा हालसम्मका दुई लाइन सङ्घर्षहरूको संश्लेषण कसरी गर्नुपर्ला ?
मलाई लाग्छ सांस्कृतिक क्रान्तिका बेलामा अध्यक्ष माओ र चिनियाँ कम्युनिस्ट पार्टीले दुई लाइन सङ्घर्षलाई समुद्रको ज्वारभाटाको संज्ञा दिनु भएको थियो । यो ज्वारभाटा कहिले सतहमा देखिन्छ, कहिले भित्रभित्र हुन्छ तर चलिराखेको हुन्छ । हामीले संश्लेषण गर्दाखेरि चाहिँ त्यतिबेला एकता, सङ्घर्ष, रुपान्तरणले मात्र पुग्दैन यसमा मुख्यतः रुपान्तरण हुन्छ भनेर संश्लेषण गरेका छौँ । मुख्यतः रुपान्तरणतिर जाँदाखेरि मात्रै अथवा रुपान्तरणलाई मुख्य बनाएर मात्रै दुई लाइन सङ्घर्षलाई सही ढङ्गले अगाडि लैजान सकिन्छ र क्रान्तिकारीलाई हाबी बनाउन सकिन्छ । एकता, सङ्घर्ष, रुपान्तरण मुख्यतः रुपान्तरण यही नै हाम्रो संश्लेषण हो । 
अध्यक्ष कमरेड, यहाँ नेपालको कम्युनिस्ट आन्दोलनको मात्रै होइन समग्र मुलुककै बहुचर्चित र जनअनुमोदित नेता हुनुहुन्छ । तैपनि आफ्नै पार्टीभित्र यहाँले निरन्तर परीक्षा दिइरहनु परेको छ । दुई दशकभन्दा लामो नेतृत्व अनुभवबाट कमरेडले यस विषयमा कस्तो अनुभूति गर्नु भएको छ ? 
मैले केही कुरा अगाडि नै भनिसकेको छु । अब नेतृत्व सम्बन्धी मालेमावादी मान्यताको चर्चा गरिराख्नु त्यति आवश्यक ठान्दिनँ । नेतृत्वमा रहेर नेतृत्वका बारेमा संश्लेषण गर्दै यहाँसम्म आउने क्रममा मैले दुई ओटा चरम प्रवृत्तिहरुको अनुभूति गरेँ । नेतृत्वलाई धेरै ग्लोरिफाई (गौरवान्वित) गर्दा त्यसको के नतिजा हुँदो रहेछ भन्ने मैले गहिरो गरी अनुभूति गरेँ । त्यसको ठिक विपरीत नेतृत्वलाई सम्पूर्ण रुपले विनाश गर्न खोज्ने प्रवृत्तिले के लिएर आउँदो रहेछ भन्ने कुरा पनि मैले देख्न पाएँ । दुइटै चीज मैले एकै चोटि भोगेँ । यहाँनेर बडो अनौठो कुरा, ती पात्र उनै छन्, हिजो देवत्वकरण गर्ने काम जुन पात्रले गरे अहिले त्यसलाई भ्रष्टीकरण गर्ने र विध्वंश पार्ने पनि तिनै पात्र देखा परेका छन् । यस्तो देख्दा चाहिँ यो के चीज रहेछ भन्ने सैद्धान्तिक संश्लेषण जरुरत भएको अनुभूति हुन्छ । नेतृत्वको हैसियतले र सम्पूर्ण पार्टीले पनि विचार गर्नुपर्ने भयो कहीँ हिजो देवत्वकरण गर्ने प्रवृत्तिसँग जति सङ्घर्ष गर्नु पथ्र्यो त्यति सङ्घर्ष गरिएनछ कि ? त्यसो भएर त्यो अहिले देवत्वकरण गर्ने प्रवृत्ति स्वतः अहिलेको भिन्न परिस्थितिमा राक्षसीकरण गर्नेतिर गयो कि ? देवत्वकरण गर्ने र राक्षसीकरण गर्ने प्रवृत्ति उनै पात्रमा देखिनुले एउटा चीजलाई व्यक्त गर्छ । निम्न पुँजीपतिवर्गीय प्रवृत्ति कसरी दुई ओटा चरम रुपमा व्यक्त हुन्छन् भन्ने यसबाट देखिन्छ । पात्र दुई ओटा भएको भए त अर्कै आयो भन्ने हुन्थ्यो पात्रै नै उही छन् । यो एउटा संश्लेषण गर्नुपर्ने विषय हो । संश्लेषणको अर्को विषय स्वयम् नेतृत्वले अथवा पार्टीले वा द्वन्द्वात्मक भौतिकवादीहरुले हामीले गल्ती कहाँ गरियो भनेर हेर्नुपर्ने हुन्छ । हिजो चरम रुपमा देवत्वकरण गर्ने प्रवृत्तिसँग समुचित सङ्घर्ष नगरेको हुनाले अहिले राक्षसीकरणको प्रवृत्ति देखा प¥यो भन्ने संश्लेषण गर्नु पनि मैले त्यत्तिकै जरुरी देखेको छु । ता कि भोलि आउने दिनहरुमा पनि भावी पिँढीले यसबाट पाठ लेओस् र देवत्वकरण गर्दा पनि त्यससँग सङ्घर्षको आवश्यकता र राक्षसीकरण गर्दा पनि त्यससँग सङ्घर्ष गर्ने आवश्यकतालाई द्वन्द्वात्मक भौतिकवादका आधारमा सन्तुलित ढङ्गले लान सकोस् ।
नेपालको कम्युनिस्ट आन्दोलनको विगत इतिहासमा नेताहरूलाई मूल समस्याका रूपमा प्रस्तुत गर्ने र निषेध गर्ने गरिएको पाइन्छ । अहिले यहाँको नेतृत्वलाई पनि यस्तै नयाँ समस्याका रूपमा प्रस्तुत गरिँदै छ । वास्तवमा समस्या कहाँनेर छ ?
त्यो त हो । नेताहरुलाई गाली गर्ने प्रवृत्ति पिछडिएको समाजको पिछडिएको उत्पादक शक्ति र उत्पादन सम्बन्ध भएका ठाउँहरुमा पूजा गर्ने र गाली गर्ने दुइटै देखिन्छ । नेताहरुलाई ज्यादै नै गाली गर्ने हुँदा बुझ्नु पर्छ कि त्यो नेतामुखी अथवा भनौँ त्यसभित्र दासत्वको प्रवृत्ति छ भनेर बुझ्नु पर्छ । दास मनोवृत्ति भएकै कारणले नेताप्रति भक्ति पनि हुन्छ र विरोध पनि गरिरहेको हुन्छ । विज्ञान विरोधी भएको हुनाले त्यसो गरिरहेको हुन्छ । लुसुनले चीनमा नेताहरुलाई गाली गर्ने चलनलाई व्यङ्ग्य गर्दै नेता होइन खत्तम चाहिँ जनता हो भनेका थिए । जनताले नेता बनाउने हो । नेताले जनता बनाउने त होइन । जनता असल, जनता विवेकी, जनता दूरद्रष्टा भए त नेता पनि त्यस्तै जन्मिन्थे नि । आफूले बुझ्नु छैन केही पनि, आफूले त्यस्ता नेता जन्माउने जन्माउने बेलामा, आफूले जन्माएकालाई गाली गरेर हिँड्ने भनेर लुसुनले भनेका छन् । यो पनि एउटा पक्ष हो । नेतालाई धेरै गाली मात्रै गरेर हुने कुरा होइन । नेताको जिम्मेवारी बढी हुन्छ तर आखिरमा गएर हेर्दा त जनताले आन्दोलनले नेता बनाउने हो । नेताले नेता बनाउने पनि होइन, नेताले जनता बनाउने पनि होइन । त्यसकारण निषेध गर्न खोज्ने कुरा बिलकुल गलत कुरा हो । त्यसमाथि पनि कम्युनिस्ट आन्दोलनमा नेतृत्व भन्ने कुरा सहज ढङ्गले बन्ने कुरै होइन । बुर्जुवाहरुको हजारौँ वर्षको अभ्यासबाट नेताहरुको जमात तयार भएको हुन्छ । लोभ, लालच, फट्याइँ, जालझेल, ठगी गर्न यसरी सिके कि उनीहरुले सबै एक से एक निस्कन्छन् तर सर्वहारा वर्गभित्र कम्युनिस्टभित्र नेता त्यति सजिलै बन्ने कुरा होइन । धेरै त्याग तपस्या गरेर, धेरै परीक्षा पास गरेर मात्र हुने कुरा हो र त्यो निरन्तर परीक्षामा बस्ने कुरा हो । तेस्रो कुरा नेताहरु अहिले मैले महसुस गर्छु, एकै चोटि दुइटा चीज देखिन्छन्, बिचित्र लाग्छ किनभने नेताहरु अन्तिम समयसम्म पनि सङ्घर्षमै हुन्छन् र ती परीक्षामै हुन्छन् । तिनले टेस्ट पास गरिराख्नै पर्छ । कम्युनिस्ट नेताहरु परीक्षामा गइराख्नै पर्छ । अर्को कुरा त्यो सङ्घर्षबाट नै नेतृत्व परिपक्व हुँदै जाने र त्यो राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा स्थापित हुने कुरा पनि रहेछ । विरोध नभईकन त हुँदैन । सामान्य किसानका छोराहरु आफ्नो परिवेशबाट हे¥यो भने त्यस्तो ज्यादै जे गरे पनि सुख दिन्नन् भने जस्तो देखिन्छ । मैले अस्ति एक जना बुद्धिजीवीसँग अरु सबै प्रधानमन्त्री भएका मान्छे विदेश गएर जे गरे पनि वास्ता हुँदैन म बाहिर यसो गयो भने किन गयो भन्छन्, मैले कुनै कपडा लगाए पनि यस्तो लगायो भन्छन्, खायो भने पनि यस्तो खायो भन्छन्, रोयो भने पनि किन रोयो भन्छन्, हाँस्यो भने किन हाँस्यो भन्छन् भनेको थिएँ । नेतृत्व मानेको हुनाले त्यसो गरेका हुन् । नेतृत्व नमानेको भए ती मान्छेहरुले वास्तै गर्दैनथे । जसले विरोध गरेका छन् तिनीहरुको मनभित्र नेता यही मात्रै हो भन्ने छ अरु चाहिँ नेता होइनन् भन्ने छ भने । त्यो कुरा मलाई चित्त बुझ्यो । विरोध गर्नेले पनि हाम्रो नेता माओवादीकै अध्यक्ष हो भन्ने मानेको हुनाले तपाईँको विरोध गरेका हुन् । चाहे बाहिरका दुस्मनले गरुन् चाहे पार्टीभित्रकाले गरुन् । तिनीहरु तपाईँसँग तर्से । यही हो नेता यसैलाई ठिक पारेपछि हुन्छ भनेर तपाईँको आलोचना गरेका हुन् । नेतृत्वको विकासको विज्ञान त यही हो, सङ्घर्ष नै हो । आलोचनाको प्रतिवाद गर्ने क्रममा नै नेतृत्वको विकास हुने कुरा हो । विज्ञान त यही हो । त्यसकारण यसका दुबै पाटाहरु हेर्नुपर्छ । मान्छे भएको हुनाले उसका सीमा कमजोरीहरु पनि हेर्नुपर्ने हुन्छ । त्यस्तो नभएको त कोही हुँदैन । जतिसुकै जे भनिए पनि सबैका सीमा हुन्छन् । माक्र्स, लेनिन र माओका त अहिलेसम्म विवाद भइरहेका छन् । लेनिनलाई अहिलेसम्म पनि गाली गर्न छोडेका छैनन् । लेनिन अनैतिक थियो भन्ने प्रमाणित भयो भनेर डिएनए टेस्टको रिपोर्ट पोहोर कि परार सार्वजनिक गरे । माओको त फिल्म बनाएको बनायै छन् माओ कति भ्रष्ट थिए भनेर देखाउन । यो त नियम नै रहेछ । हामी आफूले चाहिँ टेस्ट पास गर्न बल गर्ने कुरा नै हो । मलाई पनि एक दुई वर्ष पहिलेसम्म अलि बढी अत्यास लाग्थ्यो तर अब चाहिँ म आत्तिन छोडेँ । अब अलिअलि सिकियो । यो भीषण वर्गसङ्घर्ष र राजनीतिक सङ्घर्षमा कसरी पेस हुने रहेछ भन्ने कुरा अलिअलि जानियो । पहिला त सोझै सोझै गरियो । सुरुमा त मेरो कार्यनीति नै भएन । भित्र मनमा जे छ सब बाहिर बोलेपछि हुन्छ भन्ने भयो । जनताको एउटा ठुलो हिस्साले त राम्रै मान्यो तर प्रतिक्रियावादी अवसरवादीहरुले त्यहाँबाट ठुलो फाइदा उठाउन खोजे । त्यो चाहिँ मैले अहिले अलि बुझेँ । नेतृत्व विकसित हुने प्रक्रिया पनि हो । 
माओवादी पार्टीमा विचार, नेतृत्व र सङ्गठनका बीच अन्तर्विरोध छ भन्ने प्रचार गरिन्छ । यस सम्बन्धी वास्तविकता बताइदिनुहोस् न ।
विचार, सङ्गठन र नेतृत्वको बीचमा कम से कम सापेक्षित एकरुपता र तादात्म्य नभईकन कुनै पनि कम्युनिस्ट आन्दोलन, पार्टी र क्रान्तिकारी प्रक्रिया विकसित हुनै सक्दैन । यसकारण यदि हामीले अहिलेसम्म पार्टीको विकासलाई चाहे त्यो जनयुद्धको तयारीको दस वर्ष भनौँ या जनयुद्धको दस वर्ष भनौँ या अहिले भएको परिवर्तनलाई ठिक हो, युगान्तकारी हो भनिन्छ भने विचार, सङ्गठन र नेतृत्वमा माओवादीभित्र तादात्म्य छैन भन्नु बिलकुल अमाक्र्सवादी र गलत कुरा हो । त्यहाँ तादात्म्य भएको हुनाले मात्रै पार्टीले विकास गर्न सकेको हो । एक कम्युनिस्ट पार्टीभित्र विचार, नेतृत्व र सङ्गठनका बीचमा अन्तर्विरोध भएर धेरै दिनसम्म चल्न सक्दैन । त्यहाँ एकरुपता भएर मात्रै अगाडि बढ्ने कुरा हो तर त्यो एकरुपता यस्तो हुँदैन कि निरपेक्ष एकरुपता भन्ने हुँदैन । कहिले विचारको पक्ष बढ्ता अगाडि गइरहेको हुन्छ । सङ्गठनको पछि परेको हुन्छ । कहिले सङ्गठन अगाडि गइरहेको हुन्छ, विचार अलि पछि परेको हुन्छ । कहिले नेतृत्व अगाडि गइरहेको हुन्छ, अरुहरु पछि परेका हुन्छन् । यसलाई निरपेक्ष र यान्त्रिक रुपले बुझिनु हुँदैन । 
अध्यक्ष कमरेड, सिङ्गो देशले यतिबेला माओवादी पार्टी र यसको नेताका रूपमा यहाँलाई व्यग्रतापूर्वक हेरिरहेको छ । एकातिर शान्ति र संविधानको चाहना राख्ने जनसमुदायलाई त्यो प्राप्त नहोला कि भन्ने गम्भीर चिन्ता छ भने अर्कातिर आमूल परिवर्तनको क्रान्तिकारी चाहना राख्ने जनसमुदाय पनि पार्टीभित्रको छरपस्ट अवस्था देखेर त्यसो नहुने पिरलोमा चिन्तित, अकर्मण्य र योजनाविहीन बनेका छन् । यस्तो अवस्थामा यी दुबैथरी विचार बोक्ने जनसमुदायलाई अध्यक्ष कमरेडले कसरी सम्बोधन गर्नुहुन्छ ?
तपाईँहरुले भने जस्तै मानिसहरुमा चिन्ता त छन् तर यहाँ सबाल चिन्ताको होइन । सबाल फेरि पनि अहिलेको वस्तुस्थिति र विज्ञानको सही संश्लेषण गरेर सही नीति अगाडि सार्ने कुराको हो । र, त्यसैले मात्रै आम जनसमुदाय, क्रान्तिकारी र मध्यम वर्गलाई त्यसले सम्बोधन गर्छ भन्ने लाग्छ । अहिले सच्चा कम्युनिस्ट क्रान्तिकारीदेखि लिएर क्रान्तिप्रति चिन्ता गर्ने सबै जनसमुदायलाई सम्बोधन गर्ने भनेको अहिले हाम्रो पार्टीले अगाडि सारेको लाइन नै हो । शान्ति र संविधानका निम्ति अन्तिम समयसम्म सङ्घर्ष गर्ने र त्यो सङ्घर्ष गर्दा जनताले भने जस्तो शान्ति प्रतिक्रियावादीले दिन चाहेनन् र संविधान बन्न दिएनन् भने फैसला गर्ने अधिकार जनतालाई नै दिने भनेर हामीले जे भनेका छौँ यो नै सही लाइन हो । यही लाइनले मात्र शान्ति र संविधानका पक्षधर आम जनसमुदायको चाहना र क्रान्तिकारी जनतालाई पनि । चाहेको जस्तो शान्ति र संविधान भएन भने जनताको विद्रोहको अधिकारलाई पनि सम्बोधन गरिएको छ । त्यसकारण यो कार्यनीति वा यस लाइनले नै जनतालाई एकताबद्ध गर्न सक्छ । यसभन्दा बाहिरको लाइनले जनतालाई एकताबद्ध गर्न सक्दैन । त्यसकारण अहिले हाम्रो जोड शान्ति र संविधानलाई निष्कर्षमा पु¥याउनु नै हो । मैले के देख्छु भने शान्ति र संविधान निष्कर्षमा पुग्छ । छिटै पुग्दै छ । अलिकति छलफल भए पनि शान्ति प्रक्रिया टुङ्गिन्छ । शान्ति प्रक्रिया टुङ्गिने बित्तिकै संविधान पनि लेखिन्छ । मेरो दृष्टिमा शान्ति प्रक्रिया पार्टीहरुको बीचमा छलफल चलिरहेको भए पनि सम्मानजनक ढङ्गले नै सेना समायोजन हुन्छ । कसैले सोचे जस्तो आत्मसमर्पण होइन, संविधान पनि सारतः सामन्तवाद साम्राज्यवाद विरोधी दिशा बोकेकै बन्छ । क्रान्ति पूर्ण हुने संविधान त त्यो हँुदैन, क्रान्तिको पूर्णताका लागि अगाडि बढ्ने ठाउँ सहितको संविधान त्यो हुन्छ । त्यसले नै सबै जनसमुदायलाई सम्बोधन पनि गर्छ । त्यहाँबाट अगाडि जाने ठाउँ पनि हुन्छ । 
साँचो प्रकरणले पार्टीभित्रको एक पक्ष गम्भीर रूपले उत्तेजित भयो । आफ्नै सहयोद्धा कमरेडहरूलाई समेत झुक्याएर निर्णय गर्नुपर्ने अवस्था कसरी आयो ? विधि र विषयमा त्यहाँ त्रुटि भएको हो ?
त्यो बिलकुल त्यस्तो थिएन । यो साँचो प्रकरणमा केही साथीहरुले आफू अलिकति उत्तेजित भएको र नेतृत्वका बारेमा थुप्रै आरोप लगाउन खोजिएको जो अहिले देखिएको छ यथार्थ त्यस्तो होइन । उहाँहरुलाई रिस उठेको साँचोले होइन, उहाँहरुलाई रिस उठेको मन्त्रीले हो । यो चाहिँ साँचो कुरा हो । त्यो साँचो सम्बन्धी साँचो कुरा यदि साँच्चै बुझ्न कसैले चाहेको छ भने साँचो मुख्य कुरा होइन साँचो कुरा चाहिँ मन्त्री हो । यो कुरा म प्रमाणसहित भन्न सक्छु । विशेष समितिले लडाकु, हतियार र कन्टेनर भोलि हस्तान्तरण गर्ने भनेर निर्णय ग¥यो भदौ १४ गते । त्यही दिन बेलुकादेखि चाबी भोलि हस्तान्तरण हुने भन्ने प्रचार भयो किनभने लडाकु, कन्टेनर र हतियार हस्तान्तरण गर्ने भन्ने नै भाषा लेखिएको छ विशेष समितिको माइनुटमा तर मिडिया कङ्ग्रेस र एमालेले बुझ्ने कुरा चाहिँ चाबी नै थियो । त्यही प्रचार भयो । भदौ १४ गते बेलुका नै जो कमरेडहरुले अहिले त्यसो भन्नुभयो भन्ने जो प्रचारमा आएको छ उहाँहरु त्यस दिन बालुवाटारमा जम्मा हुनु भएको थियो । त्यो भदौ १४ गतेको बालुवाटारको बैठक धोबीघाट गठबन्धनको अन्तिम बैठक थियो । त्यहाँ चाबी सम्बन्धी कुनै कुरा चलेन । यद्यपि यस सम्बन्धी प्रचार भइसकेको थियो । अहिले चाबीको निकै चर्को कुरा गर्नेहरुले त्यहाँ चाबीको कुरा गरेनन्, मन्त्रीको मात्रै कुरा गरे । मन्त्री टुङ्ग्याउने कुरा स्थायी समितिले म, किरणजी र बाबुरामजीलाई जिम्मा दिएको थियो । भोलिपल्ट २ बजे म समेत मेरो निवासमा बैठक थियो । उहाँहरु के चाहनुहुन्थ्यो भने धोबीघाटवालाहरुको पहिला सल्लाह भएर मन्त्री टुङ्ग्याएर अध्यक्षलाई त्यसैको निम्ति दबाब दिन जाने भन्ने थियो तर त्यहाँ कुरा मिलेन, मिल्न सम्भव पनि थिएन । किनभने सरकार जसरी बन्यो, जुन आधारमा बन्यो बाबुरामजीले त्यसो गर्नु सम्भव थिएन । त्यसमाथि बाबुरामजी पक्षको होइन कि किरण पक्ष भन्ने साथीहरु नै उपप्रधान मन्त्री, परराष्ट्र मन्त्री, अर्थ मन्त्री सबै हामीलाई अध्यक्षले दिन्छन् ? सबै त माग्नु पनि भएन नि भनेपछि त्यहाँ विवाद चल्यो । तैपनि २ बजेको बैठकसम्म चाबीको बारेमा कसैलाई टेन्सन थिएन, मन्त्रीको टेन्सन थियो । भोलिपल्ट बिहानदेखि कान्तिपुर, नागरिक आदि पत्रिकाहरुका ब्यानर न्युजमा आज चाबी हस्तान्तरण हुने भन्ने थियो तैपनि त्यो कुरा त्यहाँ उठेन । किरणजी वा अरु कसैले त्यो कुरा मलाई सोध्नु भएन । २ बजे किरणजी, बाबुरामजी र म समेत बसेर कमान्डरहरुलाई चाबीको कुरा के हो भनेर मैले बुझाएँ । यसो यसो हो, यसमा केही टेन्सन लिनु पर्दैन भनेर मैले बुझाउँदा पनि किरणजी त्यहीँ हुनुहुन्छ । त्यहाँ कुनै आपत्ति भएन । दुइटा क्यान्टोन्मेन्टको त बिहानै चाबी बुझाइसकिएको रहेछ । त्यो बुझाए पनि यो के गरेको हो भन्ने वा भिन्न मत राख्ने केही पनि थिएन । अनि जब साँढे दुई बजेसम्म कमान्डरहरुसँग बसेर यो कोठामा आएर किरणजी, म, बाबुरामजी बसेर मैले मन्त्रीको लिस्ट पेस गरेँ त्यहाँ कुरा मिलेन । किरणजीको चित्त बुझेन । ल भइहाल्यो, म साथीहरुसँग सल्लाह गर्छु भनेर उहाँ जानु भयो । एक घन्टापछि मलाई फोन गरेर चाबी बुझाउने निर्णय भएको हो भनेर सोध्नु भयो । मलाई अनौठो लाग्यो । त्यो त हिजै भएको हो नि, त्यत्रो कुरा भइसक्यो भनेँ । उहाँले मेरो त चित्त बुझेको छैन है भन्नुभयो । ल अब चित्त बुझेको छैन भने के गर्ने हो गर्नू भनेँ । त्यसकारण यो चाबीको कुरा होइन, साँचो कुरा चाहिँ मन्त्रीको हो । 
मधेसी मोर्चासँगको चारबुँदे सहमतिमा राष्ट्रियताको पक्षमा सम्झौता गरियो र पार्टी पदाधिकारीहरूलाई जानकारी गरिएन भनिएको छ । यस सम्बन्धी वास्तविकता के हो ?
यो पनि अघि मैले ठिक चाबी प्रकरण सम्बन्धी जे कुरा हो यो चारबुँदे पनि उस्तै हो, एउटै हो । यो कुरा साँचो हो कि जतिबेला त्यो चारबुँदेमा हस्ताक्षर भयो, कार्यालयका हामी सबै उपस्थित हुन सकेनौँ । किनकि राती १ बजे हस्ताक्षर भएको थियो । मधेसी मोर्चासँग कुरा गर्ने भन्ने कार्यालयको निर्णय थियो । मधेसी मोर्चालाई जसरी भए पनि सहमत नगराए सरकार बन्ने भएन भन्नेमा सबैको एकमत थियो, कसैको पनि विमति थिएन । त्यो दिन मधेसी मोर्चाका पाँच जना नेतासँग बाबुरामजीले र मैले कुरा ग¥यौँ । त्यही दिन हस्ताक्षर हुन्छ भन्ने हामी दुबै जनालाई थाहा थिएन । कुरा गर्न गइएको थियो, मिल्छ कि मिल्दैन भन्ने थाहा छैन भनेर । कुरा गर्दै जाँदा कुरा मिल्ने देखियो र एक बजे हस्ताक्षर गर्ने कि नगर्ने भन्ने सल्लाह भयो । कार्यालय बसेर गर्ने कि भन्ने पनि भयो । भोलिसम्म हस्ताक्षर नगर्ने हो भने कुरा बिग्रन पनि सक्छ । मूल कुरा ठिकै छ गरिदिऊँ भन्ने लाग्यो र गरियो । म निवासमा आइपुग्दा बिहानको साँढे दुई बजेको थियो । बिहानै सात बजे मैले मिटिङ बोलाएँ पदाधिकारीको । यही कोठामा हामी सात जना बस्यौँ । हस्ताक्षरको प्रतिलिपि मैले सबैलाई बाँडेँ । यस्तो यस्तो भयो, सहमति त गरियो भनेँ । मैले पढेर सुनाएँ । दुई घन्टा छलफल गर्दा ठिक छ भन्नुभयो । केहीमा पनि कसैको एक शब्द पनि आपत्ति भएन । एक बजे सही भयो, सात बजे अनुमोदनका लागि कार्यालयमा प्रस्तुत भयो । पदाधिकारीको बैठकमा केही विरोध आएन । पार्टीले त अनुमोदन ग¥यो त्यस सम्झौतालाई उता सभासद्हरुले पनि गर्नुपर्छ भनेर संयुक्त सभासद् भेला राखियो मधेसी मोर्चा र हाम्रो । त्यस भेलामा गुरुङजी उद्घोषक र जेपी गुप्ता सहमति पत्र प्रस्तोता हुनुभयो । देव गुरुङले ऐतिहासिक सहमति भयो भन्नुभयो । सम्पूर्ण सभासद्ले पारित गर्नुभयो । त्यसकारण यो चारबुँदे पनि चाबी जस्तै हो । मन्त्री पाउँदा चारबुँदे ठिक, मन्त्रीमा कुरा नमिल्दा चारबुँदे राष्ट्रघाती भन्ने कुरा आयो । यहाँ पनि म त्यस्तो कुरा देख्दिनँ । साथीहरु नैतिक र राजनीतिक दृष्टिकोणले नराम्रोसँग चुक्नु भएको छ । 
चारबुँदेमा केही अमूर्त भाषा पक्कै पनि छ । केही अमूर्त नगरी त सहमति हुन सम्भव नै थिएन, नत्र सरकार बन्दैनथ्यो । दस हजार एकै चोटि समूहगत भर्ती गर्ने भन्ने होइन, दस हजारको माग सम्बन्धमा निश्चित सङ्ख्याबाट भर्ती सुरु गर्ने भन्ने त हाम्रो पहिलेकै लाइन हो । मधेसीहरुलाई अन्याय गरिएको छ, सेनामा भर्तीमा गरिनु पर्छ भन्ने पार्टीको लाइन नै हो । त्यहाँ के आपत्तिको कुरा भयो र ? कतिपय कुरा जस्तै, दुबै देशमा बाँकी रहेका भन्नाले हाम्रो तर्फबाट बाँकी रहेका भन्ने हो । हाम्रो व्याख्यामा हाम्रो तर्फबाट बाँकी रहेका १९५० को सन्धि खारेज गर्ने जस्ता समस्या हुन् । अरुले भन्दा त्यसो होइन, सिमाना सुपुर्दगी सन्धि भन्न पनि सक्ने । यही भन्ने त त्यहाँ छैन । लोकतान्त्रिक गणतन्त्र भनेर त्यहाँ भनिएको छैन । समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक, आत्मनिर्णयको अधिकार, स्वशासन भए जतिको खिचडी छ त्यहाँ । सबै सबै छ । जनताको समावेशी पनि छ त्यहाँ । कमरेडहरु त यो चाहिँ लोकतान्त्रिक गणतन्त्र भन्ने गर्नु भएको छ जब कि त्यो सहमति त्यहाँ हस्ताक्षर गर्नुभन्दा पाँच महिना अगाडि झलनाथ, उपेन्द्र यादव र मेरो बीचमा भएको सहमतिको भाषा जस्ताको त्यस्तै सारेको हो । एउटा शब्द पनि थप घट गरिएको छैन । दुई दिनपछि किरणजीले यहाँ त यस्तो रहेछ भन्नुभयो । अस्ति त केही पनि भएको थिएन, पछि फेरि बुद्धि आउन पनि सक्छ सक्न त मान्छेको । उहाँले पनि पछि नै देख्नुभयो, पहिले देख्नु भएन । यो त झलनाथजीहरुसँगको सम्झौता हो । मधेसी मोर्चासँग गरेकै होइन, त्यही भाषा यहाँ राखिदिएको हो भनेपछि त्यति बेलै गल्ती गरिएछ त्यसो भए भन्नुभयो । कुरा यही हो ।
पछिल्लो पटक राजनीतिक दहरुको शीर्ष तहमा भएको छलफलबाट शान्ति प्रक्रिया र संविधान लेखन बारे सहमति नजिक पुगिएको कुरा बाहिर आएको छ । यसको वास्तविकता चाहिँ के हो ?
वास्तविकता त्यही हो । नजिक पुगिएकै हो । हामीले के भनेका छौँ भने शान्ति प्रक्रियाको सेना समायोजन र पुनस्र्थापना, बेपत्ता आयोग र सत्य निरुपण आयोगमा सहमति हुनु पर्छ । हामी माओवादीको एउटा सरोकार के हो भने भोलि सेना समायोजन र पुनस्र्थापना हुनेबित्तिकै द्वन्द्वकालका पुराना मुद्दाहरु बिउँताएर फेरि राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गरिदिने हो कि त्यसकारण सत्य निरुपण तथा मेलमिलाप आयोग जरुरी छ । सत्य निरुपण तथा दण्ड आयोग होइन त्यो,मेलमिलाप आयोग हो । त्यहाँ मेलमिलापकै भाषा लेखिनु पर्छ भन्ने छलफल भएको छ । संविधानमा पनि राज्य पुनर्र्संरचना सम्बन्धी विज्ञहरुको टिम बनाएर अगाडि बढाउने प्रक्रिया एकै चोटि लाने भन्ने करिब करिब सहमति भएको छ । केही दिनभित्रमा यस विषयमा सहमति हुन्छ । सेना समायोजन सम्मानजनक नै हुन्छ । सम्मानजनक हुन्छ भन्नुको तात्पर्य हामीले भनेको न्युनतम सङ्ख्याबाट घट्दैन । मोडालिटी महानिर्देशनालयकै हुन्छ । शिक्षा, उमेर र वैवाहिक स्थितिका बारेमा लचिलो भएर जाने सहमति भइसकेको छ । पुनस्र्थापना प्याकेजमा अलिकति विवाद त छ तर हामीले न्युनतम छ अधिकतम दस लाख भनिरहेका छौँ । उनीहरु अधिकतम छ भन्छन् तर यो मिल्छ । यो त्यति गारो कुरा होइन । पद मिलानका बारेमा अलिकति गारो भएको छ । आम सिद्धान्त चाहिँ २०५२ सालमा भर्ती भएको आर्मीको एउटा सेकेन्ड लेफ्टिनेन्ट वा जवान २०६८ सम्म कहाँ पुग्छ, त्यसलाई एउटा आधार बनाउने र अर्को समायोजनको राजनीतिक निर्णयका आधारमा गर्ने, कमान्डरहरुलाई राजनीतिक निर्णयका आधारमा गर्ने र आम पङ्क्तिलाई चाहिँ नेपाली सेना र जनमुक्ति सेना दुबैलाई राज्यको सेना मानेर बराबरी हैसियत मानेर गर्ने भनिएको छ । 
बिपाका बारेमा कुरा उठिराखेको छ । यसलाई हामीले हेर्ने दृष्टिकोण के हो ?
यो कुरा उठ्छ । विवाद पनि हुन्छ । त्यसमा फरकै छैन । हाम्रो यहाँ स्थायी समितिको बैठकमा थोरै चर्चा त चलेको थियो । अहिले विवादमा भइराखेका सुपुर्दगी सन्धि, स्काई मार्सल वा सीमा सम्बन्धी कुनै पनि विषयमा सहमति नगर्ने भन्ने स्पष्ट निर्णय थियो । विपाको सम्बन्धमा गर्नै हुन्न भन्ने होइन, अरु देशसँग त्यस्तै सम्झौता गरिराखिएको छ, भारतसँग नगर्ने भन्ने त हुँदैन तर हाम्रो सरोकारलाई मिलाएर गर्ने भन्ने भएको हो । कति मिल्यो मिलेन मैले पनि राम्रोसँग बुझेको छैन । बाबुरामजीसँग कुरा चाहिँ भयो उहाँहरु आएपछि बुझ्नु पर्ला ।
(बिचारप्रधान द्धैमासिक ‘क्रमभंगबाट’ साभार)–सम्पादक

Read 1027 times Last modified on Saturday, 17 December 2011 11:36

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

यूरोपमा रहेका प्रगतीशिल संगठनहरु सम्पर्क-ठेगानाहरु

चर्चित वेब ठेगानाहरु

हाम्रो बारेमा