आहुति / एक्काइसौं शताब्दीको पहिलो दशकमा क्रान्तिका चुनौतीपूर्ण कार्यभारहरू क्रान्तिकारीहरूका सामू छन् । एक्काइसौं शताब्दी र आजको सूचना प्रविधिको विकास भइसकेको चरणमा सर्वहारा रणनीति के हुने भन्ने प्रश्नको हल हामीले नै खोज्नुपर्छ । यो माक्र्सवाद-लेनिनवाद-माओवाद/विचारधाराको परम्परागत सीमाबाट मात्रै खोजेर सम्भव छैन, बरु त्यसलाई विकास गरेर नै त्यो सम्भव छ । नेपाली क्रान्तिक लेनिनको दिशामा गएर पनि अघि बढेको होइन, माओले देखाएको दिशाबाट मात्रै पनि हामी यहाँसम्म आएका होइनौं । माओले जस्तै छापामार युद्ध गरेर सिधै राज्यसत्ता जित्ने स्थितिमा नेपाली क्रान्ति गएन । त्यसो नगरीकन दीर्घकालीन जनयुद्धको प्रक्रियाबाट अगाडि बढ्ने, छापामार इलाका र आधार इलाकाहरू निर्माण गर्ने तर त्यो आधार इलाकाको विकास सँगसँगै त्यसलाई सहरी जनविद्रोहसँग जोड्ने र गाउँको शक्तिलाई सहरमा ल्याउने नेपाली क्रान्तिको मौलिक रणनीतिअनुसार हामी यहाँसम्म आइपुगेका हौं । हाम्रो यो अनुभवले विश्वक्रािन्तकै क्षेत्रमा पनि नयाँ रणनीतिको आवश्यकता छ भन्ने कुरा देखाएको छ । क्रान्तिका सन्दर्भमा परम्परावादी ढंगले सोच्नेहरू विश्वकम्युनिस्ट आन्दोलनमा सबै सिद्धिए । बर्मा, थाइल्यान्ड, फिलिपिन्स, बंगलादेश, मलायालगायतका देशका क्रान्तिहरू सबै सकिए । अहिले नेपाली क्रान्ति मात्रै जोगिएको छ । यो जोगिन किन सम्भव छ त ? किनभने हामीले परम्परावादी सोच र परम्परावादी रणनीतिलाई परिमार्जन गरेका छौं र नै क्रान्ति जोगिएर यहाँसम्म आइपुगेका हौं ।
नेपाली क्रान्तिले नयाँ बाटो नलिएको भए यो ध्वस्त भइसक्थ्यो । चुनवाङ बैठकबाट लोकतान्त्रिक गणतन्त्रको कार्यनीति लिएर संविधानसभातिर आएर घुम्नुपर्छ भन्ने बाटो लिइँदैनथ्यो भने क्रान्ति धेरै नराम्रोसँग जोखिममा पर्ने खतरा थियो । पेरूमा भएको त्यही हो, असी प्रतिशत भूभाग जितिसकेको भनियो तर कमरेड गोन्जालो गिरफ्तारीमा पर्नासाथ क्रान्तिले धक्का खाइहाल्यो । उहाँले वार्ताको रणनीति लिनै सक्नुभएन् । सैद्धान्तिक रूपमा त लिनुभयो, तर व्यवहारिक पहल गर्न सक्नुभएन् । जसको कारण नेतृत्वको गिरफ्तारीले मात्रै पनि सिंगो क्रान्तिकारी आन्दोलन ध्वस्त भयो । त्यसकारण नेपाली क्रान्तिका बारेमा परम्परावादी ढंगले मात्रै सोच्ने कि नयाँ ढंगले सोच्ने ? अहिले एकीकृत माओवादीभित्र चलिरहेको अन्तर्संघर्षका सम्बन्धमा मूल प्रश्न यही हो ।
कमरेड किरणजीहरू परम्परातग ढंगले मात्रै सोचिरहनु भएको छ । उहाँहरूलाई भित्रैदेखि लागिरहेको छ- सिधै गएर -दीर्घकालीन जनयुद्धको बाटोबाट) जितिन्थ्यो, यतातिर -शान्ति र संविधान निर्माणतिर) किन आउनुपथ्र्यो ? यो नै उहाँहरूको चिन्तनमा रहेको परम्परावादी सोचको दोष हो । अहिले एकीकृत नेकपा माओवादीमा देखिएको अन्तर्विरोध र अन्तर्संघर्षको मुख्य कारण पनि चिन्तन प्रक्रियामा रहेको यही जडसूत्रवादी समस्या हो । किरणजीहरूले अहिले जे सोचिरहनुभएको छ, त्यो सिद्धान्तका क्षेत्रमा जडसूत्रवादी र यान्त्रिक ढंगले आएको छ । यही कारण उहाँहरूले क्रान्तिलाई पनि परम्परावादी ढंगबाट मात्रै सोच्नुहुन्छ । क्रान्तिको प्रक्रियालाई पनि त्यसरी नै बुझ्नुहुन्छ । उहाँहरू राजनीतिको क्ष्ाेत्रमा क्रान्तिकारी लफ्फाजी र वामविसर्जनवादी दिशातिर जाँदै हुनुहुन्छ । संगठनको क्षेत्रमा उहाँहरूले माक्र्सवादको होइन, अराजकतावादको अभ्यास गरिरहनु भएको छ । गुटबन्दी गर्न स्वाभाविक रूपमा लेनिनवादी संगठनात्मक सिद्धान्तभन्दा बाहिर जानुपर्छ । त्यो अराजकतावाद नै हो । त्यही चिन्तनगत कारणले नै नेपाली क्रान्तिलाई बुझ्ने सन्दर्भमा उहाँहरूले कमजोरी गरिरहनु भएको छ ।
अहिले हाम्रो पार्टीको आधिकारिक र संस्थापन पक्षले सोचेको के हो भने नेपाली क्रान्ति वा विश्वक्रान्ति सिधा बाटोबाट गएर जितिन्न । झन् एक्काइसौं शताब्दीमा, सूचनाप्रविधिको यत्रो विकास भइरहेको अवस्थामा, संसारको कुनै पनि ठाउँमा बसेर कुनै पनि पहाडको टाकुरा देख्न सकिने अवस्थामा, हामीले परम्परावादी ढंगले मात्रै सोचेर गयौं भने क्रान्तिले क्षति मात्रै बेहोर्नुपर्ने हुन्छ । सर्वहारा रणनीति पनि नयाँ ढंगले विकास गर्नुपर्नेछ र क्रान्तिलाई पनि नयाँ ढंगले अगाडि बढाउनु जरुरी छ । त्यसका लागि तत्काललाई पार्टीले शान्ति र संविधान निर्माणको यो प्रक्रियालाई सम्मानजनक ढंगले अघि बढाएर सामन्तवाद-साम्राज्यवादविरोधी सारतत्त्व भएको संविधान निर्माण गर्दै र फेरि शक्ति सञ्चय गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्ने दिशामा जानुपर्छ । यो नै अहिलेको आधिकारिक पार्टी लाइन हो । कमरेड किरणहरूले त्यसैलाई संशोधनवाद देखिरहनु भएको छ । नयाँ ढंगले सोच्नेबित्तिकै जडसूत्रवादीहरूले त्यसलाई संशोधनवाद देख्ने खतरा क्रान्तिमा जहिले पनि हुन्छ । वास्तवमा नयाँ ढंगले नसोच्ने हो भने कुनै पनि देशको क्रान्ति आफ्नै ढंगले अघि बढ्दैन, अहिलेसम्म कहीं बढेको पनि छैन । क्रान्तिको विकास हुन्छ, पुनरावृत्ति हुँदैन । परम्परागत ढंगले सोच्न छाडेर सिर्जनात्मक हुनुभयो भने मात्रै उहाँहरूको रूपान्तरण हुन्छ ।
किरण कमरेडहरूले परम्परागत ढंगले सोचिरहेसम्म यो समस्याको हल गर्न सकिंदैन । अहिलेकै चिन्तन लिएर जाने हो भने उहाँहरू पुग्ने कि बर्मा वा मलाया हो, कि मोहनविक्रमको बाटोमा । उहाँहरूले जे गर्ने भन्नुभएको छ, त्यो गर्नुभयो भने बर्मा-मलाया पुग्नुहुन्छ र ध्वंस हुनुहुन्छ । मुखले गर्ने भन्ने तर नगर्ने हो भने उहाँहरू केवल प्रतिक्रिया मात्रै व्यक्त गर्ने ठाउँमा पुग्नुहुन्छ, त्यो भनेको मोहनविक्रमपथ हो । त्यसकारणले समस्या चिन्तनप्रक्रिया र कार्यदिशामा हो । अहिले उहाँहरूसँग स्पष्ट कार्यदिशा पनि छैन । भन्न-भन्न खोज्नुहुन्छ, तर सक्नुहुन्न । चुनवाङ नै बेठीक हो भन्न पनि खोज्नुहुन्छ, तर सक्नुहुन्न । पार्टीको ०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलन नै बेठीक हो भन्न पनि खोज्नुहुन्छ, त्यसो भन्न पनि सक्नुहुन्न । त्यसकारण उहाँहरूका अगाडि अहिले तीनवटा विकल्प छन् । पहिलो विकल्प, संविधानसभा र सरकार छाड्ने र अहिलेसम्मका उपलब्धिहरू सबै यथास्थितिवादी र प्रतिक्रियावादीको जिम्मा लगाएर आफू सडक आन्दोलनमा जाने । यो यथास्थितिवादी विकल्प हो । किनभने आफैले लडेर प्राप्त गरेका उपलब्धिहरू यथास्थितिवादीहरूका हातमा छाडिदिनु र आफू चाहिं पाखा लाग्नु सही कदम हुँदैन । दोस्रो विकल्प, अहिलेका सबै प्रक्रिया छाडेर छापामार युद्धमा र्फकने हो । यो पनि प्रतिगामी राजनीति मात्रै हुन्छ । छापामार युद्ध हुँदै चलायमान युद्ध र त्यसबाट शक्ति सन्तुलनको स्थितिमा पुगेर रणनीतिक प्रत्याक्रमणको चरणसम्म पुगेर नै पार्टी सहर पसेको हो । सहरमा दुश्मनको अखडा बलियो हुन्छ भनेर नै शक्ति निर्माण गर्नका लागि गाउँबाट छापामार युद्ध सुरु गरिने हो । अहिले त गाउँबाट सहर पसेर प्रधानमन्त्री हुने, संविधानसभाको सबैभन्दा ठूलो पार्टी हुने, प्रत्येक होटल, कारखाना, रेस्टुराँ र प्रत्येक यातायातका साधनमा माओवादी नै हुने स्थिति छ । यस्तो अवस्थामा फेरि यो सबै चिज छाडेर दुई नाल बन्दूक बोकेर चौकी आक्रमण गर्नेतिर जाने रणनीति लिने हो भने त्यो प्रतिगमन हुन्छ । त्यो पनि ठीक छैन । तेस्रो विकल्प मात्रै अहिले सही छ, त्यो हो- शान्ति र संविधानलाई सम्मानजनक ढंगले सामन्तवाद-साम्राज्यवादविरोधी सारतत्त्वसहितको संविधान निर्माण गर्ने र भएका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी-समानुपातिकता, शिक्षा-स्वास्थ्य-रोजगारी मौलिक अधिकार, खाद्यसुरक्षा, महिला/मधेसी/दलित/जनजातिका हकलाई व्यवस्थापन गर्नेलगायतका उपलब्धिलाई संस्थागत र रक्षा गर्दै त्यसैमा टेकेर आमजनतासँग क्रान्तिका लागि फेरि अपिल गर्दै नयाँ ढंगले क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्नेतिर लाग्ने ।
पार्टीमा अन्तर्संघर्ष चुलिनुको प्रमुख कारण यही कार्यदिशामा परेको अन्तर हो । यसबाहेक केही साथीका महत्वाकांक्षा पूरा नभएका, केही साथीका असन्तुष्टिहरू, कतिपय साथीमा 'मलाई अन्याय भयो' भन्ने परेको इत्यादि कुराले पनि अन्तर्संघर्ष बढाउनमा भूमिका खेलेको छ । कतिपय साथीलाई त प्रचण्डलाई नसिध्याउने हो भने हाम्रो व्यक्तित्व कसरी बन्छ भन्ने पनि परेको छ । 'प्रचण्ड किन प्रचण्ड भए भने उनले हिजो मोहनविक्रमको विरोध गरे' भनेर मात्रै बुझ्ने साथीहरू पनि छन् । प्रचण्डको विरोध गरेर उनलाई परास्त गरियो र पतन गराइयो भने मात्रै हाम्रो व्यक्तित्व बन्छ भनेर सोच्नेहरू हिजो पनि थिए, जो पार्टीमा रहन सकेनन् । अहिले पनि त्यसरी सोच्ने तत्त्व पार्टीभित्रै छन् । ती सबै कुराको खिचडी त्यहाँ छ । तर, त्यो नै मूल समस्या होइन । मूल समस्या चिन्तन प्रक्रियामा रहेको जडसूत्रवाद र यान्त्रिकता नै हो, यसले क्रान्तिको रणनीति र आजको समाजलाई सिर्जनात्मक ढंगले बुझ्न सकिराखेको छैन । र, उहाँहरू परम्परावादमा फँस्नुभएको छ ।
दुईटा अवस्थामा पार्टीलाई अझै पनि एकीकृत बनाएर लैजान सकिन्छ । एउटा, यथास्थितिवादी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्र कारण अग्रगामी संविधान बनेन भने ठूलो आँधीबेहरीयुक्त आन्दोलनको सिर्जना हुनेछ र सिंगो पार्टी त्यसमा एकीकृत भएर होमिनेछ । त्यतिबेला सारा उत्पीडित समुदायसहित क्रान्तिकारी पंक्ति एकातिर र यथास्थितिवादी-प्रतिगामी शक्ति अर्कोतिर हुने अवस्था आउँछ । यसले पार्टी एकतालाई पनि जोगाउनेछ । अर्को, सामन्तवाद-साम्राज्यवादविरोधी सारतत्त्वसहितको संविधान निर्माण भयो भने त्यो संविधानका बारेमा किरणजीको पक्षमा रहेका साथीले पनि गहिरिएर त्यसको मूल्यांकन गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । त्यस्तो संविधान बन्यो भने त्यहाँभित्रका सिर्जनात्मक ढंगले सोच्न प्रयत्न गर्ने साथीहरूले त्यसलाई गम्भीरतापूर्वक लिनुहुनेछ । त्यो अवस्थामा पार्टीले लिएको दिशा सही रहेछ भन्ने उहाँहरूमा अनुभूति हुनेछ र आफ्ना केही फरक मत राखेरै पनि पार्टी मूलभूत रूपमा ठीकै दिशातिर गएको रहेछ भनेर एकीकृत बुझाइ बनाउन सकिन्छ । त्यसले पनि पार्टीलाई नयाँ आधारमा नयाँ एकतामा लैजान सकिन्छ ।
(कुराकानीमा आधारित)