शीतयुद्धका माष्टरमाइण्ड मध्य एक फास्टर डलेसले पचासको दशकको सुरु मै भनेका थिए- “अमेरिकी विदेश नीतिको निर्माणमा मलाई भनियो भने म मुक्तसञ्चार नीति बनाउँछु, अर्थात् हित अनुसारको जनमत निर्माण गरेर प्रोक्सीवार छेडछु।” उनले भने जस्तै शाही कालमा राजा ज्ञानेन्द्रलाई “यदि मलाई सञ्चारमन्त्रीको जिम्मेवारी दिए देशी तथा विदेशी मिडियालाई राम्रोसँग परिचालन गरेर सरकारको कदममा समर्थन जुटाउन सक्छु भनेर मिडिया महारथी कनकमणि दीक्षितले बिन्तिपत्र चढाएका थिए (स्रोतः मैले देखेको दरबार, लेखक विवेक शाह, पेज ३४७)। बेवास्तामा परेपछि मात्र उनी ज्ञानेन्द्र माथि खनिए राजतन्त्रमाथि हैन।
सीआईए (अमेरिकी गुप्तचर संस्था अर्थात सेन्ट्रल इण्टिलिजेन्स एजेन्सी) शैलीमा काम गर्न रुचाउने कुलीन परिवारका दीक्षितजीसँग एउटा शक्तिशाली सिण्डिकेट छ, जसले नेपाली सत्ताको चौतर्फी पहुँच र प्रभाव राख्छ। कनकजीसँग तर्कपूर्ण, मिठास र सशक्त भाषा र शैली छ। अकूत सम्पति छ। राणाकालदेखि कै कुलीन सम्बन्ध र सत्ताकेन्द्रित सोच र पहुँच। नेपालमा आउने धेरैजसो पश्चिमा कुटनीतिज्ञहरु अझै शितयुद्धको ह्याङ्ग ओभर राख्छन् भने नेपालसम्वन्धी धारणा बनाउन उनी माध्यम बन्दछन्। दाताहरुसँगको पहुँचले कथित नागरिक समाज, कारिन्दे मानवअधिकारवादीहरु, आसे र विकासे गैर सरकारी संस्थाका डलर उद्यमीहरु उनको अनुयायी बन्नु स्वभाविक हुन्छ नै। यी सबैका लागि उनको एउटा शक्तिशाली सिण्डिकेट तयार छ, जसले अन्य क्षेत्र जस्तै यथास्थितिवादी, संसदवादी र प्रतिक्रयावादी राजनीतिक शक्तिहरुको धरातलीय वातावरण र सोच र तर्क निर्माण गर्छ।
मूलतया कनक सिण्डिकेट हीतअनुसारको जनमानस तयार गर्न एउटा अघोसित सञ्जाल तयार गरेको छ भने कतिपय स्वयंसेवीहरु पनि देखिन्छन्। यो सिण्डिकेटको मूल पक्ष सामरिक महत्वको यो भूभागमा अमेरिकी हितको प्रतिनिधित्व गर्नु र अनुकूलको परिवेश तयार गर्नु हो। उदीयमान विश्व महाशक्ति चीन र भारत बीचमा अमेरिकी हितको प्रतिनिधित्व हो। उदीयमान बजार त दुबै देश हुँदै हुन्। पहिलो लक्ष्य तिब्बत केन्द्रित सोच छ भने अर्को पक्ष क्रान्तिकारी कम्युनिष्ट आन्दोलन विपक्षमा जनमत तयार गर्नु आवेग छर्नु र विभत्स चित्रण गरेर विचारमाथिको सशक्त आक्रमण गर्नुमा देखिन्छ। त्यसको लागि सिण्डिकेटले मूख्य रुपमा निम्नलिखित भूमिकामा सक्रिय राख्दछ।
२) बौद्धिक व्यबस्थापन
३) “नागरिक समाज” र “मानवअधिकारवादीहरुको” व्यवस्थापन
४) कुटनीतिक पहुँच
१) मिडिया व्यवस्थापन– अंग्रेजी र नेपाली दुबै भाषाका पारगंत दीक्षितजीले हिमाल मिडियाबाट उपरोक्त मिसन जर्नलिज्म सुरुवात गर्नुभयो। सिण्डिकेटले गरेको मिडिया व्यबस्थापनलाई बुझ्न निवर्तमान पत्रकार महासंघको नेतृत्व र माओवादीप्रतिको धारणा, डा. भक्तमान अपहरण केसलाई उदाहरणको रुपमा लिन सकिन्छ। अनेकौँ स्वतन्त्र मिडिया संस्था र शक्तिमा आफू निकटकाको कुशलतापूर्वक प्रवेश गराएर नेपाली मिडियामा एकछत्र शीर्षस्थानमा पुग्नुभयो। शक्तिशाली मिडिया हाउसको सम्पादन कक्षलाई प्रभावमा पारेर सोच र समाचारको व्यवस्थापन हेर्दा उनी नेपालका सबै प्रमुख पत्रिकाका अघोषित प्रधान सम्पादकका रुपमा देखिन्छन्।
२) बौद्धिक व्यवस्थापन – यस भूमिकामा सबभन्दा ठूलो सहयोग र माध्यम उहाँलाई मदन पुरस्कार गुठी बन्न पुग्यो। नेपाल कै नोबल पुररुकार भनिने पुरस्कारको आकर्षण र प्रलोभनले बौद्धिक व्यवस्थापनको आधार बन्यो। आसे बौद्धिक व्यक्तित्वको नाडी राम्रै तरिकाले दीक्षित कूलले राणाकालदेखि नै पत्ता लगाएको छ। शासकहरु र बौद्धिक सम्पतिबारे नेपाली सत्ताको केन्द्रमा रहेको दीक्षित परिवारले जति अरु कसैले पनि भेउ पाउन सक्दैनन्। जसको सिता खाई उसको गीता गाई भन्ने र मान्ने नेपाली समाजमा मदन पुरस्कारका कयौँ घोषणा र तत्पछाडिको प्राप्तकर्ताहरुको वफादारीवारे एउटा ठूलै अध्ययन अनुसन्धानको आवस्यकता हुन्छ भने कसरी वौद्धिक व्यवस्थापन गरिन्छ भन्ने पनि पत्तो लाग्न सक्छ।
३) “नागरिक समाज” र “मानवअधिकारवादीहरुको” व्यवस्थापन –नेपालको नागरिक समाज भनेर सक्रिय हुनेहरुमा अधिकांश गैर सरकारी विकासे संस्थाहरु छन्। ती दाताका एजेण्डा, सामाजिक अध्ययन र प्रयोगशालाका गिनीपिगमात्र बनेर लोकप्रिय आवरण नागरिक समाजको कभरमा सक्रिय हुन्छन्। परम्परादेखि दानमा चल्ने परोपकारी संस्थाहरु या त अब नभएको अथवा अत्यन्तै न्यून र प्रभाव छोडन सकिरहेको वेला चलिरहेका एनजिओहरुलाई दाताको आवस्यकता वेगर धान्न सकिने अवस्था छैन। जति ठूलो एनजिओ छ, त्यति नै ठूलो शक्ति र स्वार्थसँग जोडिएको पनि हुन्छ भने पहिचान, संभावना र सुविधाको लोकप्रिय आवरण खोजिरहेको उदीयमान मध्यमवर्ग आकर्षित नहुने कुरै रहेन। हिजोको दिनमा लोकप्रिय आन्दोलनका सक्रियतावादीहरु समेत त्यसमा फस्ने भए नै। अझ विगत दशकमा नेपालमा द्वन्द्व उद्यमीहरुको दशैँ नै बन्दा उनीहरुको जगजगी थियो नै। कारोबार फस्टाउन पनि उनीहरुलाई सामाजिक द्वन्द्व भइरहनु पर्ने हुन्छ। त्यसको लागि आवेग, उत्तेजना फैलाउनु पर्ने हुन्छ भने दाताहरुलाई सामाजिक असन्तोष कस्तो हुन्छ र उपचार के गर्दा हुन्छ भन्ने अध्ययनशाला बनाउनु पर्ने हुन्छ। द्धन्दकालिन विषय सतहमा ल्याएर आवेग भर्नु र जनमत उत्तेजित पार्न नागरिक समाज र मिडियाको कुशलतापूर्वक चालु गराउनु त्यसैको एउटा हिस्सा हो।
४) कुटनीतिक क्षेत्र – पश्चिमा समाजमा पढे बढेका दिक्षितज्यू पश्चिमाहरुको मानसिकता र यस सामरिक भूगोलमा उनीहरुका योजनाहरुबारे अनभिज्ञ छैनन्। भाषिक सुगमता, पहुँच र सम्बन्धले उनको कुरालाई विश्वास गरेर नेपालमा आउने विदेशी मूलतः पश्चिमा कुटनीतिज्ञहरु आउँछन्। त्यसै अनुसार यहाँ प्रस्तुत हुन्छन्। अझ यस पहुँचले एनजिओहरुको दाता मिलाईदिन र उच्च वेतनधारी जमात तयार गर्न उनलाई सहज भएको छ भने अनुकूल सिण्डिकेटको आधार तयार पारेको छ।
अहिले नेपाली समाजमा प्रत्यक्ष द्वन्द्व कोल्ड कन्फ्लिक्टमा फेरिएको छ। यस्तो बेला भएका र सतहमा देखिएका विषयलाई मात्र ध्यान दिएर पुग्दैन। माओवादी फुट्छ भनेर भाकल गरिरहेका र आवश्यक भूमिका खेलिरहेकाहरुको सिण्डिकेट नबुझी अंशलाई हेरेर समग्रलाई बुझ्न सकिँदैन। नदेखिएका तर भएका र भइरहेका विषयलाई गम्भिरतापूर्वक नियालेर धारणा बनाउनु पर्दछ। तबमात्र सहमतीय राजनीति र अग्रगामी विरोधी सिण्डिकेटको नाडी छाम्न सकिन्छ।
